नवीन विश्वकर्मा
कालिकोट, ९ जेठ ।
ग्रामीण ईलाकाका अधिकांश महिलाहरु महिनावारीबारे अझै पनि खुलेर बोल्न नसक्ने अवस्थामा रहेका छन। जसका कारण नेपालमा पनि दिवस मनाएर चेतना मुलक कार्यक्रम गरिदै आएको छ । महिनावारी भएका महिलाका लागि आवश्यक स्वास्थ्य सुविधाको माग गर्न र महिनावारीसँग सम्बन्धित गलत सामाजिक धारणालाई कम गर्न दिवसले सहयोग गर्ने अपेक्षा सहित कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाका विभिन्न ठाउँमा चेतनामुलक कार्यक्रम गरि विश्व महिनावारि स्वच्छता दिवस भव्यरुपमा मनाईएको छ।
विश्व मर्यादित महिनावारी स्वच्छता दिवस–२०२२ को अवसरमा नरहरिनाथ गाउँपालिकाको आयोजनामा र आई. एन. एफ. नेपालको समन्वयमा विशेष कार्यक्रमको आयोजना गरिएको हो । नरहरिनाथ गाउँपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत निरक कुमार शाहको अध्यक्षतामा, गाउँपालिकाका कार्यवाहक अध्यक्ष तथा वडा नं ३ का वडाध्यक्ष कटक बहादुर बुढाको प्रमुख आतिथ्यतामा र विभिन्न सरोकारवालाहरुको आतिथ्यतामा सडक नाटक, देउडा लगायत अन्य कार्यक्रम सहित भव्यरुपमा सम्पन्न भएको हो।
त्यस्तै आई. एन. एफ. नेपाल जिल्ला शाखा कालिकोटको आयोजनामा अन्तराष्ट्रिय मर्यादित महिनावारी स्वच्छता दिवस गाउँपालिकाको वडा नं ८ लालुमा पनि एक कार्यक्रम गरि भव्यरुपमा मनाइएको छ। मर्यादित महिनावारी स्वच्छता सम्बन्धी जनचेतनामुलक देउडा तथा “मर्यादित महिनावारी स्वच्छतामा हाम्रो भुमिका विषय”मा वक्तृत्त्वकला प्रतियोगिता पनि गरिएको बताईएको छ। सो प्रतियोगितामा मंगला मा. वि. खिरचौकाका छात्रा प्रभाना विष्ट प्रथम, सोही मा.वि. का छात्र राजेन्द्र विष्ट द्वितीय र जनप्रभात मा. वि. का छात्र कविराज वि. क. ले तृतीय स्थान हासिल गरेका छन्। साथै ५ वटा स्वाबलम्बन समुह र मंगलाशैनी मा.वि.मा अध्यनरत छात्राहरुले जनचेतनामुलक देउडा प्रस्तुत गरेका थिए।
दिवसका अवसरमा गाउँपालिका स्थित सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुढाले आम नेपालीहरुले महिनावारीलाई सामान्य रुपमा लिएको र उनले महिनावारीलाई सामाजिक प्रतिष्ठाको विषय बनाउनुपर्ने बताउनुभयो । महिनावारी महिलाहरुको मात्र हो भनेर सामान्य रुपले हेर्ने गरिन्छ । महिनावारी हुँदा महिलालाई पूजा तथा पाठमा रोकथाम लगाइन्छ। त्यसो गरिनुहुँदैन् महिनावारीलाई मर्यादित रुपले हेरिनुपर्छ । यो सांस्कृतिक, धार्मिक र सामाजिक पक्षसँग जोडिएको बताउनुभयो भने कार्यक्रमका अध्यक्ष शाहले सामाजिक मान्यताअनुसार महिनावारी भएका महिलालाई मानव रूपमा नहेरेको भन्दै आपत्ति जनाउनुभयो । मानिसहरुको यस्तो व्यवहारले महिलाको प्रतिष्ठामा नकारात्मक असर पर्ने उहाँको टिप्पणी थियो। उहाँले भन्नुभयो,‘जुन कुरा पुरुषमा छैन्, त्यो महिलामा छ, त्यो ठुलो शक्ति हो । जसले विश्वको श्रृष्टि धानिएको छ। नेपालजस्तै अविकसित र गरिब देशमा महिनावारीलाई नकारात्मक दृष्टिले हेर्ने गरिन्छ ।’
महिनावारीको समस्यालाई अझै गहिरिएर बुझ्न र यसलाई उचित व्यवस्थापन गर्नका लागि यो दिवस मनाइने गरिएको सरोकारवालाले बताएका छन् । नरहरिनाथका विभिन्न ठाउँमा दिवसको अवसरमा सरकारी तथा गैरसरकारी संस्थाले जनचेतनामूलक कार्यक्रमको आयोजना गरेका हुन।