कमल कोपिला
२३ माघ २०८२, कालिकोट ।
यौनिक तथा लैङ्गिक हिंसा र बालविवाह न्यूनीकरणसम्बन्धी कानुनी व्यवस्थाबारे धार्मिक तथा स्थानीय अगुवाहरूलाई लक्षित गरी १ दिने अभिमुखीकरण कार्यक्रम कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकामा शुक्रबार सम्पन्न भएको छ।

POWER परियोजना अन्तर्गत आईएनएफ नेपाल, कालिकोट शाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रम अष्ट्रेलियन एडको सहयोगमा तथा नरहरिनाथ गाउँपालिकाको समन्वयमा सञ्चालन गरिएको हो।

कार्यक्रमको अध्यक्षता नरहरिनाथ गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष कटक बहादुर बुढाले गर्नुभएको थियो भने जनस्वास्थ्य अधिकृत सृजना महत, महिला तथा बालबालिका शाखा नरहरिनाथकी प्रमुख सरिता बिष्ट, शिक्षक, बुद्धिजीवी, धार्मिक अगुवा, महिला, दलित समुदायलगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको समापन गर्दै वडाध्यक्ष बुढाले समाजमा विद्यमान पुराना र कथित संस्कारहरू क्रमशः न्यूनीकरण हुँदै गए पनि यौनिक तथा लैङ्गिक हिंसा र बालविवाह पूर्ण रूपमा अन्त्य गर्न समुदाय, सरोकारवाला निकाय र सबै पक्षबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले गर्भावस्थादेखि नै महिलामाथि हुने हिंसा बढ्दो रहेको सन्दर्भ औँल्याउँदै यसको न्यूनीकरणका लागि सबैले हातेमालो गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

जनस्वास्थ्य अधिकृत सृजना महत र महिला तथा बालबालिका शाखा नरहरिनाथकी प्रमुख सरिता बिष्टले सहजीकरण गर्दै यौनिक तथा लैङ्गिक हिंसा र बालविवाह न्यूनीकरणका लागि कानुनी व्यवस्था, सामाजिक उत्तरदायित्व र समुदायको भूमिकाबारे सहभागीलाई जानकारी गराएका थिए। उनीहरूले यस किसिमका कार्यक्रमले स्थानीय तहमा सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन ।

अभिमुखीकरण कार्यक्रममा सहभागी धार्मिक अगुवा तथा अन्य सहभागीहरूले लैङ्गिक हिंसा नगर्ने, बालविवाह नगराउने, बिरामी हुँदा धामी झाँक्रीकहाँ लैजानुको सट्टा स्वास्थ्य संस्थामा जान सल्लाह दिने तथा यौनिक तथा लैङ्गिक हिंसा र बालविवाह अन्त्यका लागि समुदायस्तरमा जनचेतना फैलाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

आई एन एफ ले नरहरिनाथ गाउँपालिकामा यौनिक तथा लैङ्गिक हिंसा र बालविवाह न्यूनीकरणका लागि साझा समझदारी र सामूहिक प्रतिबद्धता निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ। कार्यक्रमको संचालन भने टिम लिडर नवीन बिश्वकर्माले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS