कमल कोपिला
८ चैत्र २०८२ कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं. १ मा अवस्थित कोटवाडा स्वास्थ्य चौकीलाई जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्थाका रूपमा औपचारिक घोषणा गरिएको छ।
स्वास्थ्य चौकी कोटवाडाको आयोजनामा, प्लान ईन्टरनेश्नल नेपाल र किर्डाक नेपाल कालिकोटको सहयोग तथा समन्वयमा घोषणा गरिएको बताईएको छ ।

पोषणसम्बन्धी १६ वटा राष्ट्रिय सूचकहरू सफलतापूर्वक पूरा गरेपछि उक्त स्वास्थ्य चौकीले यो महत्वपूर्ण उपलब्धि हासिल गरेको हो, जसलाई स्थानीय तहमा स्वास्थ्य तथा पोषण क्षेत्रमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।
“स्वस्थ, सुखी र समृद्ध परिवार हाम्रो सरोकार, प्रभावकारी बहुक्षेत्रीय पोषण सेवा जनताको अधिकार” भन्ने मूल नारासहित सम्पन्न घोषणा कार्यक्रम वडा अध्यक्ष जगत बहादुर बिष्टको अध्यक्षतामा भएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमल कुमार शाह प्रमुख अतिथि रहनुभएको थियो भने जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटक महत र किर्डाक नेपाल कालिकोटका संयोजक तुलाराम पाण्डे विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा सुरक्षाकर्मी, पत्रकार, राजनीतिक दलका प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सांस्कृतिक प्रस्तुतीतर्फ हुड्के नाच र देउडा गीतले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
वडा अध्यक्ष बिष्टले कोटवाडा स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्न पाउनु आफ्नो वडाका लागि गौरवको विषय भएको बताउँदै यसले स्थानीय स्तरमा पोषणसम्बन्धी चेतना अभिवृद्धि गर्नुका साथै स्वास्थ्य सेवाको गुणस्तरमा समेत सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै यस उपलब्धिलाई दिगो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रमुख अतिथि शाहले कालिकोटमै पहिलोपटक यस्तो घोषणा हुनु खुशीको विषय भएको उल्लेख गर्दै यसले अन्य स्वास्थ्य संस्थाहरूलाई पनि प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो। विशेष अतिथि महतले विगतमा सोही स्वास्थ्य संस्थामा कार्यरत रहेको स्मरण गर्दै अहिले अतिथिका रूपमा उपस्थित हुन पाउँदा खुशी लागेको बताउनुभयो।
कार्यक्रममा सहभागी सबै सरोकारवालाहरूले पोषण सुधारलाई प्राथमिकतामा राख्दै विभिन्न प्रतिबद्धताहरू जनाएका छन्। जसअन्तर्गत गर्भवती तथा सुत्केरी आमाहरू र बालबालिकालाई पोषण प्रोत्साहन, २ वर्षमुनिका बालबालिकाको नियमित वृद्धि अनुगमन, मातृशिशु तथा किशोरकिशोरी लक्षित जनचेतनामूलक कार्यक्रम सञ्चालन, निःशुल्क तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चितता, तथा बहुक्षेत्रीय पोषण योजनाको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापन र समन्वय गर्ने लगायतका विषयहरू रहेका छन्।
कोटवाडा स्वास्थ्य चौकीले नियमित बालवृद्धि अनुगमन, पूर्ण स्तनपान प्रवर्द्धन, गर्भवती तथा सुत्केरी महिलालाई आइरन तथा भिटामिन ‘ए’ सेवन सुनिश्चितता, पोषण रजिस्टर व्यवस्थापन, जुकाविरुद्ध औषधि सेवन, विद्यालय स्वास्थ्य पोषण कार्यक्रम कार्यान्वयन तथा पोषण कर्नर स्थापना जस्ता सूचकहरू पूरा गरेको छ। साथै, कुपोषणको जोखिम न्यूनीकरण तथा पोषणसम्बन्धी सेवा प्रभावकारी रूपमा सञ्चालन हुँदै आएको प्रमाणित भएपछि यो मान्यता प्रदान गरिएको हो।
नेपालमा पोषण सुधारलाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउँदै बहुक्षेत्रीय पोषण योजना (MSNP) कार्यान्वयनमा ल्याइएको छ। यसैअन्तर्गत स्थानीय तहदेखि स्वास्थ्य संस्थासम्म पोषणमैत्री बनाउने अभियान सञ्चालन हुँदै आएको छ। ‘सुनौला हजार दिन’ (गर्भाधानदेखि दुई वर्षसम्मको अवधि) लाई विशेष प्राथमिकता दिँदै मातृशिशु पोषण सुधारमा केन्द्रित कार्यक्रमहरू सञ्चालन गरिन्छन्।
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा प्रक्रिया भनेको स्वास्थ्य संस्थाले सेवा प्रवाह, पोषण परामर्श, अभिलेख व्यवस्थापन, समुदायमा जनचेतना र बहुक्षेत्रीय समन्वय जस्ता सूचकहरू पूरा गरेको प्रमाणित भएपछि दिइने मान्यता हो। यसले स्थानीय स्तरमा कुपोषण न्यूनीकरण, बालमृत्युदर घटाउने तथा समग्र जनस्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कोटवाडा स्वास्थ्य चौकीको यो उपलब्धिले कालिकोट जिल्लामा पोषणमैत्री अभियानलाई नयाँ उचाइमा पुर्याएको छ भने अन्य स्वास्थ्य संस्थाहरूका लागि प्रेरणादायी उदाहरणसमेत बनेको छ।


