कमल कोपिला
१० चैत्र २०८२, कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं. ३ स्थित योगी नरहरिनाथ आधारभूत अस्पताललाई सोमबार एक कार्यक्रमको बिच औपचारिक रूपमा “पोषणमैत्री उन्मुख स्वास्थ्य संस्था” घोषणा गरिएको छ।
उक्त घोषणासँगै ग्रामीण क्षेत्रमा पोषणमैत्री स्वास्थ्य सेवाको सुदृढीकरणतर्फ महत्वपूर्ण कदम अघि बढाइएको छ।

अस्पताल सञ्चालन समितिका अध्यक्ष तथा वडा नं. ३ का अध्यक्ष कटक बहादुर बुढाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमल कुमार शाह प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यस्तै, प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतका बिनय ज्ञावली र किर्डाक नेपाल कालिकोटका संयोजक तुलाराम पाण्डे विशेष अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।
विभिन्न विद्यालयका प्रधानाध्यापक, राजनीतिक दलका प्रतिनिधि, युवा, विद्यार्थी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई थप प्रभावशाली बनाएको थियो।
प्लान इन्टरनेशनल नेपालको सहयोग, किर्डाक नेपाल कालिकोटको सहजीकरण तथा अस्पतालकै आयोजनामा सम्पन्न कार्यक्रममा अस्पताललाई पोषणमैत्री उन्मुख घोषणा गरिएको हो। अस्पतालका प्रमुख डा. शिवनाथ यादवका अनुसार निर्धारण गरिएका १६ सूचकमध्ये ९० प्रतिशतभन्दा बढी सूचकहरू पूरा भइसकेका छन्, जसले अस्पतालको सेवाको स्तरमा उल्लेखनीय सुधार भएको संकेत गर्दछ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले प्राप्त उपलब्धिलाई निरन्तरता दिँदै अस्पताललाई पूर्ण रूपमा पोषणमैत्री स्वास्थ्य संस्था बनाउनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो। विशेष अतिथि ज्ञावलीले यस्ता पहलले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै यसलाई अन्य स्थानका लागि पनि प्रेरणादायी नमूना भएको बताउनुभयो। साथै किशोरकिशोरीको पोषण सुधार भविष्यको स्वस्थ समाज निर्माणको आधार भएको उल्लेख गर्नुभयो।
विशेष अतिथि पाण्डेले बाँकी रहेका सूचकहरू छिट्टै पूरा गरी अस्पताललाई पूर्ण पोषणमैत्री बनाउने अभियानमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राख्नुभयो। कार्यक्रमका अध्यक्ष बुढाले विभिन्न संघसंस्थासँगको सहकार्यले सामाजिक रूपान्तरणमा पुर्याएको योगदानप्रति आभार व्यक्त गर्नुभयो।
कार्यक्रममा हुड्के नाँच, देउडा तथा ठाडीभाका जस्ता मौलिक सांस्कृतिक प्रस्तुतीहरूले वातावरणलाई थप आकर्षक बनाएको थियो।


