कमल कोपिला ११ चैत्र २०८२ कालिकोट । कर्णालीको दुर्गम भूगोलमै सामाजिक चेतनाको शक्तिशाली सन्देश प्रवाह गर्दै कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नं. १ लाई औपचारिक रूपमा बालविवाह निषेधित वडा घोषणा गरिएको छ।
स्थानीय तह, विकास साझेदार र समुदायको संयुक्त पहलमा सम्पन्न उक्त घोषणा कार्यक्रमले बालअधिकार संरक्षण र सामाजिक रूपान्तरणतर्फ महत्वपूर्ण माइलस्टोन कायम गरेको छ।

वडाको आयोजनामा सम्पन्न कार्यक्रममा प्लान इन्टरनेशनल नेपाल, किर्डाक नेपाल र आई.एन.एफ. नेपाल कालिकोटको सहकार्य रहेको थियो।

वडा नं. १ का वडाध्यक्ष जगत बहादुर बिष्टको अध्यक्षतामा सम्पन्न समारोहमा गाउँपालिकाका उपाध्यक्ष कमल कुमार शाह प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने प्लान इन्टरनेशनल नेपालका विशेषज्ञ विनय ज्ञावलि र किर्डाक नेपाल कालिकोटका संयोजक तुलाराम पाण्डे विशेष अतिथिका रूपमा सहभागी रहनुभएको थियो ।

त्यस्तै, उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्था, क्लब, शिक्षक, विद्यार्थी, किशोरकिशोरी, स्थानीय धामीझाँक्री, युवा बुद्धिजीवी तथा नागरिक समाजको उल्लेखनीय उपस्थिति रहेको थियो। सामुदायिक सहभागिताको यही व्यापकता नै घोषणाको मूल शक्ति बनेको देखिन्थ्यो।

समारोहको सबैभन्दा सशक्त क्षण त्यतिबेला देखियो, जब प्रमुख अतिथि शाहले उपस्थित सबैलाई “बालविवाह नगर्ने र नगराउन दिने” प्रतिबद्धतासहित छातिमा हात राखेर सामूहिक शपथ गराउनुभएको थियो। सो प्रक्रियालाई औपचारिकता मात्र नभई सामाजिक सोच परिवर्तनको सार्वजनिक उद्घोषका रूपमा व्याख्या गरिएको थियो।

कार्यक्रममा बोल्दै विशेष अतिथि तुलाराम पाण्डेले, “बालविवाह पूर्ण रूपमा अन्त्य गर्न अझै सामूहिक प्रयास आवश्यक रहेको औंल्याउँदै, हालसम्मको प्रगति उत्साहजनक भए पनि ३० प्रतिशतभन्दा कम दरमा झार्न नसकिएकाले ‘बालविवाह मुक्त वडा’ घोषणा गर्न अझै समय लाग्नेछ,” भन्नुभयो। त्यस्तै, प्लान इन्टरनेशनल नेपालका विशेषज्ञ विनय ज्ञावलिले बालविवाहलाई सामाजिक अपराधको रूपमा व्याख्या गर्दै यसका विरुद्ध शून्य सहनशीलता अपनाउन आग्रह गर्नुभयो।”बालविवाह गर्नु र गराउनु दुवै अपराध हुन्। जबसम्म यो प्रथा रहिरहन्छ, हामी सबै कुनै न कुनै रूपमा दोषी छौं,” उहाँले स्पष्ट शब्दमा चेतावनी समेत दिनुभएको थियो ।

वडाध्यक्ष बिष्टले हालसम्मको प्रगती प्रतिवेदन प्रस्तुत गर्दै सहयोगी सबै निकायप्रति आभार व्यक्त गर्नुभयो। उहाँले अबको प्रमुख लक्ष्य वडालाई पूर्ण रूपमा बालविवाहमुक्त वडा घोषणा गर्ने रहेको उल्लेख गर्दै त्यसका लागि सबैको निरन्तर साथ र प्रतिबद्धता अपरिहार्य रहने बताउनुभयो ।

सो कार्यक्रम सांस्कृतिक रूपमा पनि समृद्ध रहेको थियो। हुड्के नाच, देउडा, झोडा खेल तथा परम्परागत देउडा भारी खेलका प्रस्तुतीहरूले स्थानीय पहिचान र सांस्कृतिक जीवन्ततालाई झल्काउँदै उक्त सामाजिक अभियानलाई थप ऊर्जा प्रदान गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS