कमल बिष्ट
२१ फाल्गुण कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकामा रहेको योगी नरहरिनाथ आधारभूत अस्पतालमा नसर्ने रोग तथा महिलाहरूको पाठेघरको क्यान्सर सम्बन्धी दुई दिने विशेष खोज तथा उपचार शिविर आजबाट सुरु भएको छ। स्वास्थ्य सेवा कार्यालय कालिकोटको आयोजनामा तथा नरहरिनाथ गाउँपालिकाको समन्वयमा सञ्चालित सो कार्यक्रममा स्वास्थ्य सेवा व्यवस्थापक डा. भीष्म प्रसाद पोख्रेलको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथि नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र विष्ट रहनुभएको थियो।
कार्यक्रममा विशेष अतिथि उपाध्यक्ष कमल कुमार शाह तथा स्वास्थ्य शाखा प्रमुख मान बहादुर सहकारी रहनुभएको थियो। साथै, कालिकोट जिल्ला स्वास्थ्य सेवा कार्यालयका डाक्टरहरूको टिम, नर्सिङ कर्मचारीहरू, र योगी नरहरिनाथ आधारभूत अस्पतालका डाक्टर जितेन्द्र महतोको नेतृत्वमा रहेको टिमको सक्रिय सहभागिता रहेको थियो।
शिविरमा फिजियोथेरापी सेवा, डेन्टल सेवा, तथा अन्य स्वास्थ्य परिक्षणसमेत गरिएको छ। स्वास्थ्य शाखा प्रमुख मान बहादुर सहकारीका अनुसार नेपालमा उच्च रक्तचाप, मधुमेह, मुटुरोग, तथा क्यान्सरजस्ता नसर्ने रोगहरू तीव्र रूपमा बढ्दै गइरहेको अवस्थामा नेपाल सरकारले रोकथाम तथा नियन्त्रणका लागि विभिन्न रणनीतिहरू कार्यान्वयन गरिरहेको छ। यस अन्तर्गत, स्वस्थ जीवनशैली प्रवर्द्धन, नियमित स्वास्थ्य परीक्षण, तथा खोपको प्रभावकारी प्रयोग लाई प्राथमिकता दिइएको छ। कार्यक्रमका अध्यक्ष डा. भीष्म प्रसाद पोख्रेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन (WHO), तथा गैरसरकारी संस्थाहरूको सहकार्यमा नेपालमा नसर्ने रोग तथा पाठेघरको क्यान्सर रोकथाममा उल्लेखनीय प्रगति भइरहेको जानकारी दिनुभयो। पाठेघरको क्यान्सरको मुख्य कारणलाई पहिचान गरी, समयमै खोप तथा उपचार गर्न सकेमा यो रोगलाई सहजै नियन्त्रण गर्न सकिने बताइएको छ ।
नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टले यस अभियानलाई अझ व्यापक बनाउँदै, आगामी वर्षहरूमा स्वास्थ्य कार्यक्रमलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। महामारी तथा नसर्ने रोगका फोकल पर्सन एवं स्वास्थ्य सेवा कार्यालय कालिकोटका सिनियर अहेब अधिकृत हेमराज बमको सञ्चालनमा सम्पन्न सो शिविरमा जम्मा २३९ जना सेवाग्राहीहरूले सेवा लिएका छन्।
शिविरमा लिइएका सेवाहरू मध्ये दमका बिरामी २५ जना, उच्च रक्तचाप ८ जना, मधुमेह २ जना, विविध स्वास्थ्य परीक्षण ७० जना, फिजियोथेरापी सेवा २३ जना, डेन्टल सेवा २३ जना, रिङ्ग प्रेसरी राखिएका महिला ८ जना, भि.आई.ए. परीक्षण गरिएका महिला १४० जना र प्रयोगशाला परीक्षण २४ जनाको गरिएको छ । शिविर भोलि पनि निरन्तर सञ्चालन गरिने जानकारी गराइएको छ। यस अभियानले स्थानीय समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै रोगको शीघ्र पहिचान र रोकथाममा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
नरहरिनाथमा नसर्ने रोग तथा भि.आई.ए. सम्बन्धि बृहत शिविर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1