कमल बिष्ट ।
२१ माघ २०८२, कालिकोट ।

नरहरिनाथ गाउँपालिका वडा नं. २ र ३ मा आई.एन.एफ नेपाल, कालिकोट शाखाद्वारा हालसम्म सञ्चालन तथा सम्पन्न गरिएका विभिन्न विकासात्मक तथा जीविकोपार्जनसम्बन्धी कार्यक्रमहरूको संयुक्त अनुगमन सम्पन्न भएको छ।
नरहरिनाथ गाउँपालिकाको समन्वयमा सम्पन्न उक्त अनुगमन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कमल कुमार शाह, निमित्त प्रमुख प्रशासकीय अधिकृत पृथ्वी थापा, वडा नं. २ का वडा अध्यक्ष प्रेम बिष्ट, वडा नं. ३ का वडा अध्यक्ष कटक बहादुर बुढा, गाउँपालिकाका विभिन्न शाखा प्रमुखहरू तथा आई.एन.एफ नेपालका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
अनुगमनका क्रममा आई.एन.एफ नेपालले समुदायको आपतकालीन अवस्थालाई ध्यानमा राखी सञ्चालन गरेको अन्न संकलन कार्यक्रम, कृषिखेती प्रवर्द्धनका लागि प्रदान गरिएका सहयोग, बाख्रा वितरण कार्यक्रम, सुरक्षित खानेपानीका लागि धारा निर्माण, कृषियोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले निर्माण गरिएका सिँचाइ कुलो, स्थानीयस्तरमा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरू तथा आयआर्जनसँग जोडिएको हल्दी उत्पादन कार्यक्रमलगायत विभिन्न क्रियाकलापहरूको स्थलगत अवलोकन गरिएको थियो।
कार्यक्रम अनुगमनका क्रममा जनप्रतिनिधिहरूले आईएनएफ नेपालद्वारा सञ्चालन गरिएका कार्यक्रमहरू स्थानीय आवश्यकतामा आधारित रहेको, समुदायको जीवनस्तर उकास्न सहयोग पुगेको तथा विपद् र आपतकालीन अवस्थामा समुदायलाई आत्मनिर्भर बनाउने दिशामा प्रभावकारी देखिएको बताएका छन्। साथै, कृषिमा आधारित कार्यक्रमहरूले स्थानीय उत्पादन वृद्धि गर्दै रोजगारी सिर्जनामा समेत टेवा पुर्याएको उल्लेख गरिएको छ।
उक्त अवसरमा गाउँपालिकाका उपाध्यक्ष कमल कुमार शाहले आईएनएफ नेपाल र गाउँपालिकाबीचको सहकार्यले ग्रामीण भेगका लक्षित समुदायलाई प्रत्यक्ष लाभ पुगेको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै निरन्तरता दिन आवश्यक रहेको धारणा व्यक्त गर्दै विकास साझेदार संस्थाहरूको सहकार्यबाट गाउँपालिकामा आधारभूत सेवा, कृषि तथा जीविकोपार्जनका क्षेत्रमा सकारात्मक परिवर्तन देखिन थालेको उल्लेख गरे।
अनुगमनपछि सहभागी टोलीले कार्यक्रमको प्रभावकारिता, सुधारका सम्भावित क्षेत्र तथा आगामी योजनाका विषयमा समेत छलफल गरेको थियो। आई.एन.एफ नेपालद्वारा सञ्चालन गरिएका यी कार्यक्रमहरूले नरहरिनाथ गाउँपालिकाका वडा नं. २ र ३ का स्थानीय बासिन्दाको दैनिकीमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।


