कमल बिष्ट
२२ फाल्गुण कालिकोट। नेपाल कम्युनिष्ट पार्टि एमालेको जरा अभियान नरहरिनाथमा तिव्रगतिमा अघि बढ्दै ३ महिने वडा केन्द्रित जरा अभियान अन्तर्गत नरहरिनाथ गाउँपालिकाको वडा नं. ८ र ९ लालुमा कार्यकर्ता भेला सम्पन्न भएको छ ।
भेलामा पार्टी संगठन सुदृढीकरण, टोल कमिटी पुनर्गठन तथा संगठित सदस्यता नवीकरणलगायतका महत्वपूर्ण निर्णयहरू गरिएको छ । नेकपा एमाले नरहरिनाथ गाउँपालिका वडा नं. ९ का अध्यक्ष जगत दर्जिको अध्यक्षतामा सम्पन्न उक्त भेलामा पार्टीका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज नगिन्द्र शाही ‘नेशनल’ प्रमुख अतिथि रहनुभएको थियो । त्यस्तै, केन्द्रीय सदस्य एवं प्रदेश ‘ख’ इन्चार्ज इन्दिरा सन्ज्याल, कर्णाली प्रदेश कमिटी सदस्य एवं राष्ट्रिय किसान आयोगका सदस्य टेक बहादुर बोगटी ‘प्रविण’, जिल्ला कमिटी उपाध्यक्ष टेक बहादुर बुढा, जिल्ला लेखा आयोग संयोजक जलशा बुढा, अनेरास्ववियु कर्णाली प्रदेश सचिव धर्मराज शाही, पूर्व प्रदेश कमिटी सदस्यहरू दुर्ग बहादुर शाही र रमेश बिष्ट, गाउँ कमिटी अध्यक्ष हिरामणी उपाध्यायसहित विभिन्न अग्रज नेता तथा जनवर्गीय संगठनका प्रतिनिधिहरूको उपस्थिति थियो ।

भेलाले ९ वटा टोल कमिटी पुनर्गठन गर्ने, आर्थिक वर्ष २०८१/८२ का लागि संगठित सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ । प्रमुख अतिथि नगिन्द्र शाहीले नरहरिनाथ गाउँपालिकाको समृद्धि र विकासका लागि आगामी २०८४ को चुनावमा नेकपा एमालेको जित आवश्यक रहेको बताउनुभयो । उहाँले नेकपा एमालेको नेतृत्वले मात्र देशको समृद्धि र विकास सम्भव रहेको उल्लेख गर्नुभयो ।
यसअघि पनि नेकपा एमालेले नरहरिनाथ गाउँपालिकाका विभिन्न स्थानहरूमा आफ्नो संगठनात्मक गतिविधिहरू व्यापक रूपमा सञ्चालन गरिसकेको छ । जरा अभियानलाई प्रभावकारी बनाउन पार्टीले विभिन्न वडामा कार्यकर्ता भेलाहरू, जनपरिचालन कार्यक्रमहरू, टोल कमिटी पुनर्गठन तथा पार्टी सदस्यता विस्तारका कार्यहरूलाई तीव्रता दिएको छ । स्थानीय तहदेखि केन्द्रसम्म संगठनलाई मजबुत बनाउने उद्देश्यका साथ एमालेले नरहरिनाथका विभिन्न वडामा निरन्तर छलफल, बैठक तथा प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । पार्टी नेतृत्वका अनुसार, आगामी निर्वाचनलाई लक्षित गरी स्थानीय तहमा संगठनहरूलाई थप सशक्त बनाउने प्रयास गरिएको छ ।