कमल बिष्ट
२३ फाल्गूण कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकामा नेकपा एमालेको भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको पालिका अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता नेपाल उत्पीडित जातीय मुक्ति समाज प्रदेश कमिटी सदस्य कर्ण विश्वकर्माले गरेका थिए भने प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज नगिन्द्र शाही “नेशनल” थिए । विशेष अतिथिका रूपमा केन्द्रीय सदस्य एवं कालिकोट प्रदेश ‘ख’ इन्चार्ज इन्दिरा संज्याल, राष्ट्रिय किसान आयोग सदस्य टेक बहादुर बोगटी प्रबिन, नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष टेक बहादुर बुढा, जिल्ला लेखा आयोग संयोजक जलशा बुढा, जिल्ला मुक्ति समाज अध्यक्ष रमेश नेपाली, पूर्व प्रदेश कमिटी सदस्य दुर्ग बहादुर शाही, गाउँ कमिटी अध्यक्ष हिरामणी उपाध्याय लगायत नेकपा एमालेका अग्रज नेता, कार्यकर्ता, तथा जनवर्गीय संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

अधिवेशनमा, नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष टेक बहादुर बुढाले उत्पीडित जातीय समुदायहरूको हक, अधिकार र समानताका लागि यो संगठन एक हतियार सरह रहेको बताउँदै तीन महिने “जरा अभियान” लाई थप निरन्तरता दिनुपर्नेमा जोड दिए । जिल्ला लेखा समिति संयोजक जलशा बुढाले जातीय विभेद अन्त्य गर्न तथा समतामूलक समाज निर्माण गर्न संगठनको महत्वपूर्ण भूमिका रहेको बताए । राष्ट्रिय किसान आयोगका सदस्य टेक बहादुर बोगटी प्रबिनले जातीय भेदभाव हटाउन प्रत्येक व्यक्ति आफ्नै घरबाट सुरुवात गर्नुपर्ने बताउँदै, “दलित भनेर हेप्नु भनेको मानसिकता कमजोर बनाउनु हो, त्यसैले यस्तो चिन्तन हटाउनु आवश्यक छ,” भन्ने धारणा राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि नगिन्द्र शाही नेशनलले समाज रूपान्तरणमा सबैको भूमिका रहने भन्दै, जातीय भेदभाव हटाउन शिक्षामा जोड दिनुपर्ने बताए । उनले जातभन्दा कर्मलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै, सबै बालबालिकालाई विद्यालय पठाउन आग्रह गरे । साथै, जातीय विभेद अन्त्य र उत्पीडित समुदायहरूको अधिकार सुनिश्चित गर्न मुक्ति समाजले अविचलित भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
सो अवसरमा विभिन्न पार्टी परित्याग गरी थुप्रै नेता तथा कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् । अधिवेशनले जातीय समानता, सामाजिक न्याय, र राजनीतिक स्थायित्वका लागि ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्दै, आगामी दिनमा प्रभावकारी नीति कार्यान्वयन गर्ने लक्ष्य लिएको छ।