कमल कोपिला
२४ फाल्गूण कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिका-९ स्थित सितला टोलमा आकस्मिक स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । बिगत पाँच दिनदेखि उच्च ज्वरो, खोकी, टाउको दुख्ने लगायतका लक्षण देखिएपछि श्री जनजागरण आधारभुत विद्यालय सितलाको समन्वयमा गाउँपालिकाको स्वास्थ्य तथा सरसफाई शाखाले शिविर सञ्चालन गरेको हो ।
विद्यालयका विद्यार्थीहरू एक्कासी सिकिस्त बिरामी परेपछि, गाउँमा भाईरलको रुप लिएपछि, केही विद्यालय पुग्न नसक्ने र कतिपय अचानक बेहोस हुने अवस्थासम्म पुगेपछि वडाकार्यालयमा जानकारि दिएपछि, स्थानीय तहले पहलकदमि लिएर तत्काल स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय गरेको विद्यालयका प्रधानाध्यापक बुद्धिसिंह बिष्टले जानकारी दिनुभयो । शिविरमा नरहरिनाथ आधारभूत अस्पतालका डा. जितेन्द्र महतो नेतृत्वको चिकित्सक टोलीले सेवा प्रदान गरेको थियो । स्थानीय बासिन्दाहरूमध्ये १८२ जनाले प्रत्यक्ष रूपमा सेवा लिएका छन्। शिविरमा निमोनियाका १५ जना, जटिल निमोनियाका १ जना, कमन कोल्डका ५७ जना, युटिआईका २ जना, एलआरपिआईका ३ जना, घाँटी संक्रमणका ४१ जना, जोर्नी समस्या भएका २ जना, ज्वरोका ११ जना, डिसेन्ट्रीका ६ जना, डायरियाका ४ जना, फेब्राइल इन्भेन्सका १२ जना, उच्च रक्तचापका ६ जना, एपीडीका २२ जना तथा छाती समस्या भएका १ जनाले उपचार सेवा लिएका छन् ।

स्वास्थ्य चौकि लालुका ईन्चार्ज नरेश बिष्टका अनुसार, चार जना बिरामीको अवस्था जटिल भएकाले उनीहरूलाई थप उपचारका लागि अन्यत्र रिफर गरिएको छ । व्यापक संख्यामा स्थानीयबासी बिरामी परेपछि स्वास्थ्य टोली स्थलगतरूपमा पुगेर उपचार सेवा प्रदान गरेको हो। यस आकस्मिक स्वास्थ्य शिविरले समुदायमा फैलिएको स्वास्थ्य समस्याको पहिचान तथा न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेलेको वडाध्यक्ष प्रदिप बोहोराले जानकारि दिनुभयो ।