कमल कोपिला
फाल्गूण २४ कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकामा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस भव्य रूपमा सम्पन्न भएको छ।
महिला तथा बालबालिका शाखा प्रमुख सरिता बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कमल कुमार शाह को विशेष उपस्थिति रहेको थियो। साथै, पूर्व गाउँपालिका अध्यक्ष धिर बहादुर बिष्ट, उपाध्यक्ष मनशो बुढा, विभिन्न जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, महिला सञ्जालका प्रतिनिधिहरू, विभिन्न संघ-संस्था, बाल क्लब, युवा क्लब, दलित सञ्जाल, स्वयंसेवक, ज्येष्ठ नागरिक, आमा समूह लगायतको उल्लेखनीय सहभागिता रहेको थियो । महिला तथा बालबालिका शाखा नरहरिनाथ गाउँपालिकाको आयोजनामा, आई.एन.एफ नेपाल, सहास नेपाल, किर्डाक नेपाल तथा हुरुण्डेकको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई अझ आकर्षक बनाउन बक्तृत्वकला प्रतियोगिता, हुड्के नाच, देउडा नाच, झोडा नृत्य तथा सडक नाटक प्रस्तुत गरिएको थियो । बक्तृत्वकला प्रतियोगितामा रामशोभा बोगटी प्रथम, सत्यदेवी बुढा द्वितीय, गीता बिक तृतीय तथा नामसरा बिष्ट सान्त्वना पुरस्कार विजेता बनेका छन ।
कार्यक्रमको क्रममा अध्यक्ष सरिता बिष्टले महिला तथा बालबालिकाको अधिकार, समानता र सशक्तिकरण सुनिश्चित गर्न सांगीतिक प्रस्तुति र बक्तृत्वकलाको माध्यमबाट जनचेतना फैलाउनु मुख्य उद्देश्य रहेको बताइन् । प्रमुख अतिथि लगायत अतिथीले पनि महिलाको नेतृत्व, शिक्षा, आर्थिक सशक्तिकरण र सामाजिक योगदानलाई प्रवर्द्धन गर्ने आवश्यकता रहेको धारणा व्यक्त गरेका छन।