कमल कोपिला
२४ फाल्गूण कालिकोट । “सबै महिला तथा बालिकाका लागि अधिकार, समानता र सशक्तीकरण” भन्ने मूल नाराका साथ रास्कोट नगरपालिकाले एक सय १५ औं अन्तर्राष्ट्रिय महिला दिवस भव्य रूपमा सम्पन्न गरेको छ ।

नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा तथा विभिन्न साझेदार संघसंस्थाको सहकार्यमा विविध साँस्कृतिक कार्यक्रमसहित दिवस मनाइएको हो । नगर प्रमुख धर्मराज शाही (पोषण) ले शुभकामना सन्देश दिँदै लैङ्गिक समानता र महिला सशक्तीकरणको लक्ष्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण तथा निर्णय प्रक्रियामा महिलाको समान पहुँच सुनिश्चित गर्नुपर्ने उल्लेख गर्नुभयो । साथै, परम्परागत सोचका कारण समाजमा हुने विभेद, शारीरिक तथा मानसिक हिंसालाई निर्मूल पार्न नगरपालिकाले विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

महिला सञ्जालका विभिन्न समूहहरूले नाटक, देउडा, ठाडोभाका जस्ता साँस्कृतिक प्रस्तुतीमार्फत लैङ्गिक हिंसाका विरुद्ध आवाज उठाएका थिए। समाजमा रहेका कुरीतिहरू, किशोरीहरूमाथि हुने विभेदजन्य व्यवहार तथा महिला अधिकारका विषयमा कलाकारहरूले मार्मिक प्रस्तुती दिएका थिए। कार्यक्रममा नगरपालिकाका सम्पूर्ण वडाका महिला सञ्जालहरू, जनप्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, सरकारी कर्मचारी, शिक्षक, बुद्धिजीवी, युवा क्लब, बाल क्लब, स्वास्थ्य स्वयंसेविका तथा पत्रकारहरूको उल्लेख्य उपस्थिति थियो।

प्लान नेपाल, सादा नेपाल, हुरेण्डेक नेपाल लगायतका संस्थाहरूको विशेष सहकार्यमा आयोजित कार्यक्रमलाई समुदायमैत्री, सशक्तीकरणमुखी तथा प्रेरणादायी बनाउन सफल भएको आयोजकहरूले जनाएका छन्। नगर प्रमुख शाहीका अनुसार महिलाको अधिकार सुनिश्चित गर्न नगरपालिका आगामी दिनमा शिक्षा, उद्यमशीलता, रोजगारी सिर्जना, हिंसा निवारण तथा नीति निर्माणमा महिला सहभागिता वृद्धि गर्न विशेष कार्यक्रमहरू अघि बढाउनेछ। रास्कोटमा यसरी भव्य रूपमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउनु महिला सशक्तीकरणको यात्रामा महत्वपूर्ण कोसेढुङ्गा भएको नगरवासीहरूले प्रतिक्रिया दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS