कमल कोपिला
२५ फाल्गूण कालिकोट । लामो प्रतीक्षा र कठिन निर्माण प्रक्रियापछि खुलालु-लालु-मालकोट-रुप्सा-चुना सडकखण्ड अन्तर्गत सर्गाडको चट्टानी अवरोध हटाईएको छ ।
निर्माणको मुख्य अवरोध बनेको १५० मिटरको कडा चट्टान हटाइएपछि स्थानीयवासीले ठूलो राहत महसुस गरेका छन् । यसअघि ठेक्का सम्झौता रद्द भएपछि यो सडक निर्माण अन्योलमा परेको थियो । तर, एस.के.डी. कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालिले कठिन भूगोलको सामना गर्दै तोकिएको समयसीमा भन्दा अगावै निर्माण कार्य सम्पन्न गरेको छ । नरहरिनाथ गाउँपालिका वडा नं ३, कालिकोटका निर्माण व्यवसायी श्यामप्रसाद उपाध्यायको नेतृत्वमा मात्र तीन महिनामै सडक निर्माण पूरा गरिएको हो ।

गुणस्तरीय निर्माण तथा समयमै काम सम्पन्न गरे बापत आईतवार गाउँपालिकामा प्रशासकीय अधिकृत युवराज पौडेल सहितको टोलीमार्फत उपाध्यायलाई सम्मान गरिएको छ । गाउँपालिकाका प्रशासकीय अधिकृतले सम्मान गर्दै भने, “यस सडक निर्माणमा देखिएको चुनौतीलाई पार गर्दै एस.के.डी. कन्ट्रक्सनले उत्कृष्ट काम गरेको छ । समयमै काम सम्पन्न गर्नु मात्र होइन, गुणस्तरमा पनि सम्झौताभन्दा उत्कृष्ट रहेको देखिएको छ । यसले स्थानीय बासिन्दाको जीवन सहज बनाउनेछ । निर्माण व्यवसायी श्यामप्रसाद उपाध्यायलाई गाउँपालिकाको तर्फबाट धन्यवाद तथा सम्मान प्रकट गर्छौं।”
सडक सञ्चालनमा आएपछि त्यहाँका बासिन्दाले अगाडिको सडक निर्माणदेखि लिएर सवारि साधन पुर्याएर यात्रा सहज हुने मात्र होइन, आर्थिक र सामाजिक गतिविधिमा समेत उल्लेखनीय सुधार आउने अपेक्षा गरेका छन । साथै, निर्माण कम्पनीको मेहनत, ईमान्दारिता, लगनशीलता र सफल कार्यको उच्च प्रशंसा गरेका छन् ।