कमल कोपिला । नन्दादेवी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई लिएर विवाद उत्पन्न भएपछि सर्वदलीय बैठक बसेको छ । निर्वाचन कार्यतालिका अनुसार, त्रिभुवन विश्वविद्यालयको भर्ना अवधि पछि भर्ना गरिएका विद्यार्थीहरूको नाम मतदाता नामावलीमा समावेश गरिएको भन्दै नेकपा माओवादी केन्द्र निकट विर्धार्थी संगठन अखिल क्रान्तिकारीले दाबी विरोध पेश गरेको थियो।
संगठनका केन्द्रीय सचिवालय सदस्य प्रेम बहादुर दर्जीका अनुसार, १८ गतेसम्म ९७ जना विद्यार्थीको भर्ना भएको माइनुटको प्रमाण आफूहरूले क्याम्पससँग मागेको र क्याम्पस प्रशासनले १३४ जनाको नामावली प्रकाशन गरेको भन्दै ३७ जना बढीको नाम थपिएको अखिल क्रान्तिकारी ईकाई कमिटीका अध्यक्ष यशोदा शाहीको टोलिले दाबी गरेका थिए।

यससंगै विविध विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बसेको थियो। बैठकले अखिल क्रान्तिकारीको दाबी सही रहेको ठहर गर्दै प्रक्रियागत रूपमा अपुग रहेका ३७ जना विद्यार्थीको नाम मतदाता नामावलीबाट हटाउने निर्णय गरेको छ। साथै, निर्वाचन समितिको गठनमा एकलौटी निर्णय गरिएको भन्दै दलहरूले आपत्ति जनाएपछि ७ सदस्यीय निर्वाचन समिति पनि पुनर्गठन गरिएको छ, जसमा सबै दलका प्रतिनिधि, क्याम्पस प्रमुख, र क्याम्पसका एक अर्का कर्मचारी रहने छन्।
त्यसैगरी, निर्वाचन आचारसंहितासम्बन्धी महत्त्वपूर्ण निर्णयहरू पनि बैठकले गरेको छ। निर्वाचन प्रक्रियालाई निष्पक्ष, पारदर्शी, र सर्वस्वीकार्य बनाउन सबै दलहरू सहमत भएका छन् भने सकभर सहमतिमा टुंग्याउन पनि गृहकार्यमा लागेका छन ।