कमल कोपिला
२७ फाल्गूण कालिकोट । नन्दादेवी बहुमुखी क्याम्पस, कोटवाडा नरहरिनाथमा स्ववियु निर्वाचनको सरगर्मी चुलिएको छ । विद्यार्थी प्रतिनिधित्व गर्ने ऐतिहासिक निर्वाचनका लागि दुई प्रमुख प्यानलले उम्मेदवारी दर्ता गराएका छन् । समाजवादी मोर्चाका विद्यार्थी संगठन र सरकारमा रहेका दलका विद्यार्थी संगठनबीच रोचक प्रतिस्पर्धा देखिएको छ ।
स्ववियु निर्वाचन २०८१ अन्तर्गत सभापति, उप-सभापति, सचिव, सहसचिव, कोषाध्यक्ष तथा अन्य सदस्य पदहरूका लागि दुवै पक्षले आ-आफ्ना उम्मेदवार घोषणा गरिसकेका छन् । यसपटकको निर्वाचनमा अनेरास्ववियु र नेपाल विद्यार्थी संघको गठबन्धन गरि एक र अखिल क्रान्तिकारी, अखिल समाजवादीले अर्को प्यानल खडा गरेका छन् ।

प्रतिस्पर्धी उम्मेदवारहरूको सूची स्ववियु सभापति पदका लागि यशोदा शाही र तेज वहादुर दर्जि मैदानमा छन्। त्यस्तै, सचिव पदका लागि सागर बहादुर सहकारी र सुनिल कुमार सहकारी प्रतिस्पर्धी छन् । कोषाध्यक्ष पदका लागि संगिता कुमारि सहकारी र नविन बिष्ट आमनेसामने हुनेछन् । अन्य सदस्य पदमा समेत कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । खुल्ला सदस्यका लागि पविता कुमारि सहकारि र संगिता कुमारि बुढा अखिल क्रान्तिकारिबाट, जयन्ती बिश्वकर्मा र अस्मिता बिश्वकर्मा अखिल समाजवादिबाट, ललिता बिष्ट र स्वस्तिका कुमारि सहकार नेविसंघबाट त्यस्तै गंगा कुमारि बुढा अनेरास्ववियूबाट मैदानमा उत्रिएका छन ।
खासगरी महिला प्रतिनिधित्वका लागि पनि उत्साहजनक सहभागिता देखिएको छ । विद्यार्थीहरूमा चुनावी माहोल तातेको स्ववियु निर्वाचनलाई लिएर क्याम्पसमा माहोल निकै गर्माएको छ । विद्यार्थीहरू आ-आफ्ना उम्मेदवारको प्रचारमा व्यस्त छन् भने झण्डा, डिजिटल प्रचार सामाग्रीहरूले क्याम्पस परिसर चुनावी रंगमा रंगिएको छ । यही निर्वाचनले क्याम्पसको नेतृत्व कसको हातमा जानेछ भन्ने टुंगो लगाउने भएकाले विद्यार्थीहरू अत्यधिक उत्साहित देखिएका छन् ।
निर्वाचनको निष्पक्षता कायम गर्न क्याम्पस प्रशासन र निर्वाचन अधिकृतले विशेष ध्यान दिइरहेका छन्। अब केही दिनमै नतिजा आउने भएकाले विद्यार्थी समुदाय र समग्र शिक्षा क्षेत्रको ध्यान यो चुनावमा केन्द्रित भएको छ ।