कमल कोपिला
२४ चैत्र कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिका र एक एक पाईला फाउन्डेसनको संयुक्त आयोजनामा र विभिन्न ठाउँबाट आएका विशेषज्ञ चिकित्सकहरूको सक्रियतामा सञ्चालन भएको शिविरमा हजारौं स्थानीयवासीले सेवा लिएका छन्।

स्वास्थ्य सेवा लिएका स्थानीयहरू पनि अत्यन्त सन्तुष्ट देखिएका छन्। शिविरको पहिलो दिन धेरैको आँखामा उपचारको राहत मात्र होइन, कृतज्ञताको आँसु पनि देखिएको छ । आँखा खोल्ने शल्यक्रियाबाट दृष्टि फिर्ता पाएको भन्दै धेरै वृद्धवृद्धाले भने “फेरि नातिनातिनीको अनुहार पनि देख्न सक्ने अवस्था आउँछ कि भन्ने कल्पना पनि गरेको थिएनौ।”

दुई दिन अघि देखि हात समातेर बास बस्दै अस्पताल ल्याएकी आमाले आफ्नो छोरीको अपरेसन सफल भएको खबर सुन्दा खुसीले आँसु झारिन्।

नरहरिनाथमा स्वास्थ्य शिविर सेवा केवल औषधि मात्र होइन, विश्वास, भरोसा र जीवन फर्काउने माध्यम पनि बनेको छ।शिविरले गाउँलेहरूको अनुहारमा मुस्कान मात्र होइन, मनमा आशा र हर्षको उज्यालो छरिदिएको छ।

नरहरिनाथ–३ का ५५ वर्षीय उज्ज्वल बूढाले भने, “यो उमेरसम्म धेरै शिविर देखेको थिएँ तर यस्तो सुविधा यति नजिकै गाउँमै निशुल्क शिविर पहिलोपटक पाइयो, यसपटक उपचारका लागि बाहिर धाउन नपर्ने भयो। कानको सेवा लिन आएका बुढाले औसधि मात्तै खाया निको हुन्थो, यसपटक अपरेसन गरे अब एकविचार हुन्छ कि ! टाढा जान सक्दिन थिएँ, यहाँकै अस्पतालमा विशेषज्ञ भेट्टाउँदा विश्वास नै लागेन।”

त्यस्तै, दुई वर्षदेखि हाडजोर्नीको समस्याले पीडित भएकी नरहरिनाथ–७ लक्ष्मी दर्जिले उपचारपछि राहत महशुस भएको बताइन्। “हामी जस्ता गरिबलाई यस्ता सेवा वरदानजस्तै हो,” उनले भनिन्।

मुख्यत: नरहरिनाथमै पहिलोपटक अपरेसन सेवा सुरु हुनु यस शिविरको मुख्य उपलब्धि मानिएको छ। योगी नरहरिनाथ आधारभूत अस्पतालका डा. शिवनाथ यादवका अनुसार यसअघि नरहरिनाथमा अपरेसन सेवा कहिल्यै सञ्चालन भएको थिएन। सामान्य ओपिडी सेवा मात्रै उपलब्ध भएको ठाउँमा आज पहिलोपटक आँखाको अपरेसन, कानको अपरेसन तथा सामान्य शल्यक्रिया सेवा सफलतापूर्वक सञ्चालन गरिएको छ। “यस किसिमको सेवा नरहरिनाथमा पहिलोपटक भयो, जुन आफैंमा एक ठूलो उपलब्धि हो,” डा. यादवले बताए।

शिविरमार्फत प्रदान गरिएका सेवाहरूको आँकडाले यसको प्रभाव र सफलताको प्रमाण दिन्छ। पहिलो दिन २८ जनाको आँखाको शल्यक्रिया, २०९ जनाको आँखाको ओपिडी सेवा, २३९ जनाको जनरल मेडिसिन सेवा, ९० जनाको स्त्री रोग सेवा, १२२ जनाको नाक, कान, घाँटी सम्बन्धी सेवा, ६७ जनाको छाला रोग परीक्षण, २१२ जनाको हाडजोर्नी परीक्षण, ६२ जनाको दन्त रोग सेवा, ४८ जनाको बालरोग परीक्षण, ६ जनाको कानको अपरेसन, ७० जनाको सामान्य शल्यक्रिया, साथै १०१ जनाको प्रयोगशाला परीक्षण गरिएको छ। साथै, भिडियो एक्सरे सेवा ६० जनालाई र साधा एक्सरे १२ जना लगायत गरि जम्मा १३ सय २६ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको थियो। यद्यपि, पहिलो दिनमा ईसिजी र ईन्डोस्कोपी सेवा भने सञ्चालनमा आउन सकेन।

शिविरको व्यवस्थापन पक्षबाट गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्टले यो खालको शिविरमार्फत दुर्गम क्षेत्रमा समेत गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने प्रयास गरिएको बताए। जनताको स्वास्थ्यप्रति समर्पित भएर गरिएको यस पहलले गाउँमा स्वास्थ्य सचेतना बढाउनुका साथै सेवाप्रति विश्वास बढाउने कार्य पनि गरेको छ।

त्यस्तै, नरहरिनाथ गाउँपालिकाका उपाध्यक्ष कमल कुमार शाहले पनि स्वास्थ्य शिविरप्रति उच्च सन्तोष व्यक्त गरेका छन । उनले भने, “स्वास्थ्य सेवा सबैको पहुँचमा पुर्‍याउने हाम्रो लक्ष्य हो। यो शिविर त्यसैको मूर्तरूप हो। गाउँपालिकाको पहलमा यस्तो स्तरीय सेवा सम्भव भएकोमा हामी खुसी छौं र आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याउने छौं।”

स्वास्थ्य शिविर भोलि र पर्सि पनि जारी रहनेछ। आयोजकले सेवाग्राहीलाई बिहान ८ बजेदेखि सेवा लिन आउन अनुरोध गरेका छन्। आज नरहरिनाथको इतिहासमै पहिलोपटक यस्तो स्तरीय शिविरले गाउँलेहरूको अनुहारमा खुसी ल्याएको छ, जुन स्थानीय तह र स्वास्थ्यकर्मीहरूको समर्पणको प्रतिफल हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS