कमल बिष्ट ।
२४ कार्तिक २०८२, कालिकोट ।
जिल्लाको नरहरिनाथ गाउँपालिकामा सहयोगी हातहरूको समूह (सहास नेपाल)द्वारा सञ्चालित ‘पाइला परियोजना’को सामाजिक परीक्षण तथा परियोजना हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमल कुमार शाहको अध्यक्षता, निमित्त प्रमुख प्रशासकीय अधिकृत निरक कुमार शाहको विशेष आतिथ्यता, वडा नं. १ देखि ९ का वडा अध्यक्षहरू, सहास नेपाल पाइला परियोजनाका संयोजक विशान थापा, सिनियर जलवायु परिवर्तन अधिकृत हरि प्रसाद अधिकारी, सामाजिक लेखापरीक्षक प्रसिद्ध न्यौपाने, अनुगमन तथा मूल्याङ्कन अधिकृत खगेन्द्र बि.क., तथा जलवायु परिवर्तन अधिकृत बासुदेव रावत लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा जनप्रतिनिधि, कार्यपालिका सदस्य, विभिन्न शाखा प्रमुख, संघ–संस्थाका प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधि, सक्षम पाइला किशोरी सञ्जालका सदस्यहरू, कृषक समूहका प्रतिनिधि लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

सन् २०२२ देखि २०२५ सम्म सहास नेपालले नरहरिनाथ गाउँपालिकाका ९ वटै वडामा ४५ कृषक समूह गठन गरी ९ वटा मूल समूह र १ पालिका स्तरीय कृषक सञ्जाल गठन गरेको छ। सो अवधिमा १११७ जना सदस्यहरूलाई परियोजनाले प्रत्यक्ष रूपमा संलग्न गराएको थियो।

यस्तै, पालिकाभर २० वटा किशोरी संवाद समूह गठन गरी पालिका स्तरीय किशोरी सञ्जाल स्थापना गरिएको छ। यसबाट किशोरी नेतृत्व विकास, बालविवाह रोकथाम, सञ्चार माध्यममार्फत सचेतना अभिवृद्धि तथा क्षमता विकाससम्बन्धी विभिन्न तालिम सञ्चालन गरिएको थियो। परियोजनाको सहकार्यमा ४ वटा बालविवाह रोक्न सफल हुँदै वडा नं. ३ र ४ लाई बालविवाह निषेधित वडा घोषणा गरिएको छ। साथै, ९ वटै वडामा १० वटा विपद् व्यवस्थापन समिति गठन गरिएको छ।

परियोजनाले किसानहरूका लागि जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरण सम्बन्धी कार्यहरू सञ्चालन गर्दै स्थानीय सरकार र समुदायको क्षमता अभिवृद्धि गरेको छ। सञ्चार माध्यममार्फत किसानमैत्री सूचना प्रणाली प्रसारण गर्दै कृषकहरूलाई मौसमी तथा बेमौसमी तरकारी खेतीमा प्रोत्साहित गरेको र जैविक विषादी (झोलमोल) उत्पादन गर्न सहयोग पुर्‍याएको छ।

त्यस्तै, वडा नं. १ र ९ मा डिजिटल सूचना प्रसारणका लागि टेलिभिजन जडान, वडा नं. ३ मा संकलन केन्द्र स्थापना, पालिका स्तरीय सामुदायिक बिउ बैंक स्थापना गरी प्रत्येक महिनाको १५ गते नरहरिनाथ गाउँपालिका वडा नं ३ को प्राङ्गणमा हाट बजार सञ्चालन गर्दै आएको छ।

सहास नेपालले कृषकहरूलाई आयआर्जनका लागि साना उद्यमतर्फ उन्मुख गराउन औजार, बाख्रा, हाँस, कुखुरा, फिल्टर तथा सुधारिएको चुलो वितरण गरी पैँचो कार्यक्रम सञ्चालन गर्दै आएको छ।

कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत निरक कुमार शाहले भने, “सहास नेपालले पालिकामा सञ्चालन गरेको पाइला परियोजनाले स्थानीय सरकारसँग हातेमालो गर्दै कृषक, किशोरी तथा समुदायस्तरमा चेतना र आत्मनिर्भरता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको छ। यो उदाहरणीय कार्यक्रम हो,” उनले भने।

त्यस्तै, वडा नं. ९ का अध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता प्रदीप बोहराले परियोजनाबाट पालिकाका सबै वडामा सकारात्मक परिवर्तन आएको उल्लेख गर्दै भने, “पाइला परियोजनाले गाउँमा दिगो कृषि अभ्यास, विपद् न्यूनीकरण, किशोरी सशक्तिकरण र वातावरणमैत्री सोच विकासमा ठूलो योगदान पुर्‍याएको छ। यसले वडास्तरमा समेत नीतिगत प्रभाव पार्ने काम गरेको छ,” उनले बताए।

गाउँपालिका उपाध्यक्ष कमल कुमार शाहले सहास नेपाल र परियोजना टिमलाई धन्यवाद दिँदै भने, “चार वर्षको अवधिमा सहास नेपालले गाउँपालिकाको प्रत्येक क्षेत्रमा सशक्तिकरण, नेतृत्व विकास र आत्मनिर्भरता अभिवृद्धिमा गरेको योगदान प्रशंसनीय छ। गाउँपालिकाको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु,” उनको भनाइ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
2
+1
1
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS