कमल बिष्ट ।
१२ मंसिर २०८२, कालिकोट ।
जिल्लाको नरहरिनाथ गाउँपालिका–०९ लालुस्थित नेपाल टेलिकमको टावरमा दीर्घ प्रतीक्षा पछि 4G सेवाको महत्वपूर्ण अपग्रेड सम्पन्न गरिएको छ।

यसअघि 900MHz मा सीमित 4G सेवा चल्दा निश्चित मोडेलका मोबाइलमा मात्र इन्टरनेट चल्ने समस्या थियो। अब भने नेपाल दुरसञ्चार कार्यालय कालिकोट–जुम्लाको प्राविधिक टोली आएर टावरमा 1800MHz (1.8GHz)—सबै प्रकारका मोबाइलमा चल्ने 4G ब्याण्ड—जडान गरेपछि स्थानीयवासीले प्रत्यक्ष लाभ पाउने भएका छन्।

नेपाल दुरसञ्चार कालिकोटका प्राविधिक लोकराज न्यौपानेका अनुसार, यसअघि कुमालगाउँमा 4G अपग्रेड कार्य सम्पन्न भइसकेको थियो। लालुमा पनि नयाँ ब्याण्ड जडानसँगै अब पालिकाभित्र 4G सेवा अझ स्थिर र गुणस्तरीय हुने जानकारी दिएका छन। उनका अनुसार नेटवर्क गति, कभरेज र स्थिरतामा उल्लेखनीय सुधार आउने छ।

नेपाल दुरसञ्चार कालिकोट प्रमुख प्रेम बिष्टका अनुसार, 4G अपग्रेडको योजना धेरैपटक बने पनि विविध कारण ढिलाइ भएको थियो। तर स्थानीयको निरन्तर चासो, जनदबाब र समन्वयका कारण कामलाई प्राथमिकता दिएर छिटो सम्पन्न गर्न सकिएको हो। “स्थानियको सहयोग र निरन्तर मागले हामीलाई सहज बनायो,” प्रमुख बिष्टले बताए।

नरहरिनाथ गाउँपालिका वडा नं–९ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता प्रदीप बोहराले 4G अपग्रेडलाई गाउँपालिकाको डिजिटल विकासका लागि ठूलो उपलब्धि भएको बताए।
उहाँका अनुसार, “हाम्रो पालिकामा संचार सेवा सुधार हुनु अत्यन्त आवश्यक थियो। अब 1800MHz को नयाँ 4G सेवा चलेपछि विद्यार्थी, व्यवसायी, सेवाग्राही र सबै स्थानीयवासीले प्रत्यक्ष रूपमा सहज र छिटो इन्टरनेटको अनुभव गर्नेछन्। यसले गाउँपालिकाको डिजिटल पहुँचलाई अर्को स्तरमा पुर्‍याउनेछ।” बोहराले स्थानीय आवश्यकताअनुसार आगामी दिनमा पनि अन्य बस्तीमा नेटवर्क सुधारका कामलाई निरन्तर अघि बढाइने प्रतिवद्धता जनाएका छन्।

यसअघि नै टावरहरूमा विद्युत् जडान गरिसकिएकोले अब फोन तथा इन्टरनेट सेवा झनै स्थिर, भरपर्दो र गुणस्तरीय हुने अपेक्षा गरिएको छ। डिजिटल शिक्षा, अनलाइन सेवा, बैंकिङ पहुँच र सञ्चार गतिविधिमा यसले सकारात्मक असर पार्ने स्थानीयको विश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS