कमल बिष्ट ।
२ कार्तिक २०८२, कालिकोट ।
जिल्लाको नरहरिनाथ गाउँपालिकाको संचार क्षेत्रसँग सम्बन्धित समस्याबारे महत्वपूर्ण माग संचार, सूचना तथा प्रविधि मन्त्रालयमा पेश गरिएको छ।
आज संचार, सूचना तथा प्रविधि मन्त्री माननीय जगदीश खरेल र मन्त्रालयकी सचिव राधिका अर्याल ज्यूसँग भएको भेटवार्तामा नरहरिनाथ गाउँपालिकाका युवाहरुले गाउँपालिकामा विद्यमान संचार सेवा अवरुद्ध, कमजोर नेटवर्क, इन्टरनेट पहुँच अभावजस्ता समस्याहरू तत्काल समाधान गर्न माग गरेका छन्।

भेटका क्रममा मन्त्री खरेलले सो क्षेत्रको संचार समस्या समाधानका लागि तिहारपछि आवश्यक पहल सुरु गर्न नेपाल टेलिकम प्रदेश कार्यदललाई निर्देशन दिइसकिएको जानकारी दिए। उनले दुर्गम क्षेत्रमा संचार पहुँचलाई विस्तार गर्नु सरकारको प्राथमिकतामा रहेको बताउँदै छिट्टै सुधार हुने विश्वास व्यक्त गरे।
नरहरिनाथ गाउँपालिकाको स्थानीय तहका जनप्रतिनिधिहरू र सञ्चारकर्मीहरूले यस कदमलाई सकारात्मक रुपमा लिएका छन् र यसले स्थानीय क्षेत्रमा संचार पूर्वाधारको विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।


