कमल बिष्ट।
२७ कार्तिक २०८२, कालिकोट ।
जिल्लाको नरहरिनाथ गाउँपालिकामा कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालय, पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना (आयोजना कार्यान्वयन एकाई, सुर्खेत) को आयोजनामा र नरहरिनाथ गाउँपालिकाको समन्वयमा आयोजना लागू हुने ब्याज ३ का स्थानीय तहका सरोकारवालासँग आयोजना सम्बन्धी अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ।

उक्त गोष्ठी आयोजना कार्यान्वयन एकाई सुर्खेतका वाली संरक्षण अधिकृत राम बहादुर थापाको अध्यक्षतामा, नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र बहादुर बिष्टको प्रमुख आतिथ्यतामा तथा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत निरक कुमार शाहको विशेष आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा वडा अध्यक्ष, जनप्रतिनिधि, कार्यपालिका सदस्य, विभिन्न शाखाका प्रतिनिधि तथा स्थानीय कृषकहरुको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागी सरोकारवालाले आयोजनाले स्थानीय उत्पादनमा वृद्धि, आधुनिक प्रविधिको परिचय र दिगो कृषि प्रणालीमा सहयोग गर्ने अपेक्षा व्यक्त गरेका थिए।

काष्ठफल तथा फलफूल विकास आयोजना सन् २०२२ देखि २०२९ सम्मका लागि सञ्चालनमा रहेको छ। उक्त आयोजनाले कर्णाली प्रदेशका नौ जिल्लाभित्र रहेका २० वटा स्थानीय तहमा कार्य गर्दै आएको छ। आयोजनाको उद्देश्य पहाडी क्षेत्रका कृषकहरूलाई उच्च मूल्यका काष्ठफल र फलफूलका बोटबिरुवा उत्पादन तथा व्यवसायिकरणमा प्रवर्द्धन गर्ने, कृषकलाई प्राविधिक सहयोग प्रदान गर्ने, र वातावरणमैत्री कृषि प्रणालीलाई मजबुत बनाउने रहेको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र बहादुर बिष्टले भने, “यो आयोजना हाम्रो गाउँपालिकाका कृषकहरूको जीवनस्तर सुधार गर्ने एउटा महत्त्वपूर्ण अवसर हो। यहाँको भौगोलिक र वातावरणीय अवस्थाअनुकूल काष्ठफल र फलफूल खेती विस्तार गर्न सकियो भने स्थानीय अर्थतन्त्रमा नयाँ गति आउँछ। गाउँपालिकाले यस आयोजनाको सफल कार्यान्वयनका लागि आवश्यक सहयोग र समन्वय गर्न सदैव तयार छ।”

उनले कृषकहरूलाई आफ्ना जग्गामा दीर्घकालीन सोचका साथ फलफूल तथा काष्ठफल खेतीको प्रवर्द्धन गर्न समेत आग्रह गरे।

कार्यक्रमको अन्त्यमा सहभागी कृषक र जनप्रतिनिधिहरूले आयोजनाबाट प्राप्त हुने सम्भावनाबारे आशा व्यक्त गर्दै आगामी दिनमा यसले गाउँपालिकाको कृषि क्षेत्रलाई नयाँ दिशा दिने विश्वास व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS