कमल बिष्ट ।
१३ कार्तिक २०८२, कालिकोट ।
जिल्लाको नरहरिनाथ गाउँपालिकामा अपाङ्गता तथा विपन्न व्यक्तिहरूलाई आयआर्जन र आत्मनिर्भर बनाउने उद्देश्यका साथ बाख्रा वितरण कार्यक्रम सम्पन्न गरिएको छ।

आई.एन.एफ. नेपालको आर्थिक सहयोग, नरहरिनाथ गाउँपालिकाको समन्वय र गाउँपालिकाको पशु शाखाको आयोजनामा आई.एन.एफ. नेपालद्वारा सञ्चालित “खानेपानी, सरसफाई, स्वच्छता र जीविकोपार्जनको माध्यमबाट महिला तथा किशोरी सशक्तिकरण परियोजना” अन्तर्गत यो कार्यक्रम सञ्चालन गरिएको हो।

उक्त परियोजनाअन्तर्गत रहेका स्वावलम्बन समूहका ८ जना अपाङ्गता तथा विपन्न सदस्यहरूलाई आयआर्जनका लागि बाख्रा वितरण गरिएको हो। कार्यक्रमको मुख्य उद्देश्य आर्थिक रूपमा कमजोर तथा अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बन्न सहयोग पुर्‍याउने, पशुपालनमा अभिप्रेरित गर्ने र दिगो आय स्रोत विकासतर्फ अघि बढाउने रहेको गाउँपालिकाले जनाएको छ।

कार्यक्रम नरहरिनाथ गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष कटक बहादुर बुढाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा अध्यक्ष बुढाले अपाङ्गता र विपन्न वर्गका नागरिकलाई आत्मनिर्भर बनाउन यस्ता कार्यक्रम अत्यावश्यक रहेको बताउँदै सहयोगी संस्थाप्रति आभार प्रकट गरे।

उनले भने, “गाउँपालिकाको विकासका लागि सबल समुदायको आवश्यकता हुन्छ। त्यसका लागि विपन्न तथा अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउने कार्यक्रम गाउँपालिकाको प्राथमिकतामा छ।”

यस अवसरमा गाउँपालिकाको पशु शाखाका प्रतिनिधिहरूले बाख्राको उचित हेरचाह, खोर व्यवस्थापन, आहार व्यवस्थापन र रोग नियन्त्रणबारे प्राविधिक जानकारीसमेत दिएका थिए।

कार्यक्रममा स्वावलम्बन समूहका सदस्यहरू, स्थानीय जनप्रतिनिधि, आई.एन.एफ. नेपालका प्रतिनिधि तथा सरोकारवालाहरूको समेत उपस्थिति रहेको थियो। लाभार्थीहरूले यस्ता कार्यक्रमले आफ्नो जीवनमा परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS