कमल बिष्ट ।
२३ कार्तिक २०८२, कालिकोट ।
जिल्लाको नरहरिनाथ गाउँपालिका र सहास नेपाल पाइला परियोजनाको सहजीकरणमा गठित सुनौलो कृषक समूह र हरियाली कृषक समूहमा संयुक्त फिल्ड अनुगमन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा सुनौलो कृषक समूहकी अध्यक्ष रतना बुढा र हरियाली कृषक समूहकी अध्यक्ष शान्ति बुढाको अध्यक्षता रहेको थियो। कार्यक्रममा नरहरिनाथ गाउँपालिकाका उपाध्यक्ष कमल कुमार शाह प्रमुख अतिथि र गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत निरक कुमार शाह विशेष अतिथिका रूपमा उपस्थित थिए।

त्यस्तै, वडा नं ३ का वडा अध्यक्ष कटक बहादुर बुढा, वडा नं ५ का वडा अध्यक्ष जिबन बोगटी, सहास नेपाल पाइला परियोजना संयोजक विशान थापा, परियोजनाका सिनियर जलवायु परिवर्तन अधिकृत हरि प्रसाद अधिकारी, सामाजिक लेखापरिक्षक प्रसिद्ध न्यौपाने, अनुगमन तथा मूल्याङ्कन अधिकृत खगेन्द्र बि.क. र जलवायु परिवर्तन अधिकृत बासुदेव रावत लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा जनप्रतिनिधि, गाउँपालिकाका विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधिहरू, सक्षम पाइला किशोरी सञ्जालका प्रतिनिधि र स्थानीय कृषकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सहास नेपाल पाइला परियोजनाले किसान समूहहरूलाई तरकारी उत्पादन, च्याउ खेती, हाँस, बाख्रा र कुखुरा पालन, साथै जैविक विषादी उत्पादन जस्ता आयमूलक गतिविधिहरूमा सहयोग गर्दै आएको छ।
त्यस्तै, परियोजनाले समूहहरूलाई मौसमी तथा बेमौसमी तरकारीका बिउ–बिजन, कृषि तथा आरन सामग्री वितरण, साथै जलवायु परिवर्तन, लैङ्गिक सचेतना, नेतृत्व विकास, घर बगैँचा व्यवस्थापन र जैविक विषादी उत्पादन सम्बन्धी विभिन्न तालिमहरू प्रदान गर्दै आएको छ।

कार्यक्रममा बोल्दै, वडा नं ३ का अध्यक्ष कटक बहादुर बुढाले कृषक समूहहरू गाउँको आर्थिक विकासको मेरुदण्ड भएको उल्लेख गर्दै भने, “स्थानीय स्रोत र सीपलाई उपयोग गरी आत्मनिर्भर बन्ने यो अभियान सराहनीय छ। वडाबाट पनि यस्ता समूहहरूलाई आवश्यक सहयोगका लागि हामी सधैं तयार छौं,” उनले जोड दिए।

त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि उपाध्यक्ष कमल कुमार शाहले गाउँपालिकाले कृषक समूहहरूलाई आत्मनिर्भर र व्यवसायमुखी बनाउनका लागि निरन्तर सहयोग गरिरहेको बताउँदै भने, “सहास नेपाल जस्ता संस्थाको सहकार्यले स्थानीय कृषकमा सीप र उत्साह दुबै बढेको छ। यसले गाउँमा रोजगारीका अवसर सिर्जना हुनुका साथै उत्पादनमा समेत वृद्धि गरेको छ,” उनले बताए।

सहभागी कृषकहरूले सहास नेपाल र गाउँपालिकाको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने धारणा राखेका थिए।

अनुगमनका क्रममा समूहका आय–व्यय, गतिविधि र आगामी कार्ययोजनाबारे समेत विस्तृत जानकारी प्रस्तुत गरिएको थियो।



