कमल कोपिला ।
२८ चैत्र कालिकोट । गए राति परेको अत्यधिक वर्षा र असिना पानीका कारण नरहरिनाथ गाउँपालिकाको विभिन्न स्थानमा बाली नालीमा ठूलो क्षति पुगेको छ।
विशेषगरी नरहरिनाथ गाउँपालिकाको वडा नम्बर ४ र ५ स्थित रुप्सा क्षेत्रमा किसानहरू सबैभन्दा बढी प्रभावित भएका छन्। बाली टिप्ने संवेदनशील समयमा असिनासहितको भारी वर्षाले जौ, गहुँ लगायतका बालीमा व्यापक असर पारेको हो। वडा नम्बर ५ का अध्यक्ष मान बहादुर सहकारीका अनुसार, “कृषकहरू अहिले जौ र गहुँ टिप्ने तयारीमा थिए, तर अविरल वर्षासँगै परेको असिनाले बाली पूर्णरूपमा नष्ट गरिदियो। अहिले किसानहरू गहिरो चिन्तामा छन्।”

स्थानीय किसानहरूको अनुसार, उनीहरूले पूरै वर्ष भरि गरेको मिहिनेत असिनापानीले क्षती पुर्याएपछि उनीहरूको वर्षभरिको आशा निराशामा परिणत भएको छ। किसानहरूले राहतको माग समेत गरिरहेका छन्।
रुप्सासँगै मालकोट, उच्छव, दुदुल्ली, लालु, कुमालगाउँ र कोटवाडा क्षेत्रहरूमा पनि असिनाको कारण बालीमा ठूलो क्षति पुगेको छ। यी क्षेत्रमा पनि अधिकांश बाली टिप्ने तयारीमा रहेका बेला आएको यस्तो अविरल वर्साले किसानहरूको मनोबलमा ठूलो चोट पुर्याएको छ।
नरहरिनाथ गाउंपालिकाले क्षतिको यथार्थ मूल्यांकन गरिरहेको जानकारी गराउँदै निकट भविष्यमा राहत र क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा पहल गरिने बताएका छन्।
यसैबीच कृषि कार्यालय, विपद् व्यवस्थापन समिति तथा स्थानीय सरकारलाई प्रभावित क्षेत्रको निरीक्षण गरी यथाशीघ्र राहत र पुनःस्थापना कार्यक्रम अगाडि बढाउन किसानहरूले माग गरेका छन्।