कमल कोपिला
२१ वैशाख २०८२ कालिकोट । प्लान इन्टरनेश्नल नेपाल र किर्डाक नेपालको साझेदारीमा सञ्चालित ‘सशक्त बालिका परियोजना’ अन्तर्गत नरहरिनाथ गाउँपालिकामा १ दिने यौन तथा प्रजनन स्वास्थ्य सेवा तथा अधिकारसम्बन्धी शिविर आइतबार व्यापकरुपमा सम्पन्न भएको छ।
गाउँपालिकाको समन्वयमा आयोजित सो शिविरमा कुल ३५२ जना किशोर–किशोरीले सेवा लिएका छन्, जसमा ३०७ किशोरी र ४५ किशोर सहभागी भएका थिए। भने ३९ जनाले चेक अप सहितको स्वास्थ्य उपचार सेवा लिएका हुन।
शिविरमा सहभागीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य, किशोरावस्थाका शारीरिक तथा मानसिक परिवर्तन, आत्मरक्षा र यौनिक अधिकारका विषयमा व्यवस्थित जानकारी र व्यक्तिगत परामर्श सेवा प्रदान गरिएको थियो।
जिल्ला अस्पताल कालिकोटका डा. कलेन्द्र बिस्ट, योगी नरहरिनाथ आधारभूत अस्पतालका डा. जितेन्द्र महत्तो सहितका अनुभवी स्वास्थ्यकर्मीहरूको टोलीले परामर्श तथा उपचार सेवा दिएका थिए।
सहभागी किशोरीहरूले गाउँमै यस्ता संवेदनशील विषयमा सहज रूपमा जानकारी र सेवा पाइएकामा आश्चर्य र खुशी दुबै व्यक्त गरेका छन्। एक सहभागी किशोरीले भनिन्,“पहिला यस्तो कुरा घरमा गर्न पनि डर लाग्थ्यो। आजको शिविरले हामीजस्ता किशोरीहरूलाई बोल्ने हिम्मत दिएको छ।”
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कमल कुमार शाह, परियोजना संयोजक बलिराज शाही, अनुगमन तथा मूल्याङ्कन अधिकृत प्रेम चौलागाईं, गाउँपालिकाका स्वास्थ्य संयोजक मानबहादुर सहकारी, किर्डाक नेपालका कर्मचारीहरू लगायतको विशेष उपस्थिति र सहकार्य रहेको थियो।
गाउँपालिकाका उपाध्यक्ष शाहले भने,“किशोर–किशोरीहरूलाई यौन स्वास्थ्य, अधिकार र आत्मरक्षाबारे खुला संवाद गर्ने वातावरण बनाउनु हाम्रो दायित्व हो। यस्ता शिविरले युवालाई आत्मविश्वासी बनाउँछ। साथै, अहिलेका युवा युवतिले खुलेर लाग्न पर्ने र अरुलाई जागरुक बनाउन लाग्न पर्ने आवश्यकता औल्याउनुभयो । नेपाल सरकारको प्रचलित कानुन बमोजिम किशोर किशोरीले सशक्त रुपमा लाग्न अपिल गर्नुभयो ।”
शिविरपछि धेरै किशोर–किशोरीहरूले यौनिकता र स्वास्थ्यका विषयमा बुझाइ बढेको, जिज्ञासा मेटिएको र भविष्यमा अरूलाई पनि जानकारी दिन सक्ने आत्मविश्वास आएको बताएका छन्।
यो शिविर नरहरिनाथ गाउँपालिकामा मात्र नभई ग्रामीण भेगमा किशोर–किशोरीको स्वास्थ्य र अधिकारका विषयमा काम गर्ने संस्थाहरूका लागि नजिरको रूपमा स्थापित हुनसक्छ। आज सम्पन्न सो शिविरले सामाजिक संकोच हटाउँदै खुला संवादको वातावरण निर्माणमा समेत योगदान पुर्याउने विश्वास लिईएको छ ।
शिविरका केही तस्विरहरु:
