कमल कोपिला ।
३१ वैशाख २०८२ कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकाका वडाहरू क्रमश सरसफाईको नयाँ युगमा प्रवेश गरिरहेका छन् । २०७९ सालदेखि सुरु गरिएको पूर्ण सरसफाई अभियान अन्तर्गत यस वर्ष २०८२ वैशाख २७ देखि ३० गतेसम्म वडा नं १ देखि ४ सम्म कुल १३० घरधुरीलाई पूर्ण सरसफाईयुक्त घर घोषणा गरिएको छ।

यस अभियानले केवल घरधुरीका भौतिक सरसफाइ मात्र होइन, समुदायको सोच, संस्कार र व्यवहारमा समेत परिवर्तन ल्याउन थालेको छ। प्लान इन्टरनेशनल नेपाल र किर्डाक नेपालको साझेदारीमा सञ्चालन भइरहेको सशक्त बालिका परियोजना अन्तर्गत सञ्चालित यो अभियान अब पालिकालाई नै पूर्ण सरसफाईयुक्त घोषणा गर्ने दिशातर्फ अगाडि बढिरहेको छ।

घरहरूको मूल्याङ्कन ६ वटा प्रमुख सरसफाईका सूचकहरूमार्फत गरिएको थियो। चर्पीको गुणस्तर र प्रयोग, व्यक्तिगत सरसफाई, सुरक्षित हात धुने स्थान, सफा र सुरक्षित खानाको प्रयोग, सफा र सुरक्षित पानीको प्रयोग र घर आगन तथा भान्साको सरसफाई रहेका थिए।

सूचकमा व्यापकरुपमा उत्रिएका घरधुरीलाई प्रमाणपत्र प्रदान गर्दै पूर्ण सरसफाईयुक्त घर घोषणा गरिएको हो । कार्यक्रममा परियोजना अधिकृत हिमाल आचार्य र अनुगमन तथा मूल्याङ्कन अधिकृत प्रेम चौलागाईंको विशेष उपस्थितिले परियोजनाको औपचारिकता थप बलियो बनाएको थियो। साथै, १०० जनालाई सरसफाई सामग्रीहरू ब्रस, हार्पिक र साबुन वितरण गरिएको थियो। सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका र सहजकर्ताहरूलाई प्रशंसा पत्र प्रदान गर्दै सम्मानसमेत गरिएको थियो।

वडा नं. ४ का अध्यक्ष नन्दराम सहकारीले आफ्नो वडामा पूर्ण सरसफाई घोषणा गर्नु प्रेरणादायी यात्रा रहेको बताए। उनले भने, “अब बाँकी घरपरिवार र टोलमा पनि अभियान फैलिनेछ भन्ने विश्वास लिएको छु।”

टोलस्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समितिकी सदस्य अस्मिता बुढा भन्छिन्,-“किर्डाक नेपालबाट सञ्चालित सेसनहरूले हामीलाई व्यवहार परिवर्तन गर्न प्रेरित गरेको छ। पहिले भन्दा अहिले हाम्रो टोल सरसफाईमा निकै सुधारिएको छ।”

त्यस्तै, सहिद स्मृति बाल क्लबका सदस्य सुवास सहकारीले सरसफाई अभियान पढेर मात्र नहुने व्यवहारमै उतार्नु स्वच्छ बानी राख्नु सबैको कर्तव्य हुने बताए । नागरिक अगुवा सूर्य बोगटीले पनि अभियानको प्रशंसा गर्दै विद्यालयदेखि समुदायसम्म फैलिएको यो अभियानले नरहरिनाथको छवि नै बदल्ने विश्वास व्यक्त गर्नुका साथै किर्डाक नेपालको प्रयास स्मरणीय रहेको बताए ।

परियोजना अधिकृत हिमाल आचार्यलेले साढे १ वर्षअघि सुरु भएको अभियानले आज समुदायमा गहिरो प्रभाव छाडेको बताए । उनले भने, “हामी बाँकी घरधुरी, टोल र विद्यालयमा यो अभियान विस्तार गर्दै सम्पूर्ण पालिकालाई नै पूर्ण सरसफाईयुक्त घोषणा गर्ने दिशामा लागिरहेका छौं।”

उक्त घोषणाले नरहरिनाथ गाउँपालिकामा स्वच्छता, स्वास्थ्य र सभ्य जीवनशैलीको जग बसाल्ने काम गरिरहेको छ। नरहरिनाथमा सरसफाई अब नारा मात्र होइन, व्यवहारमा रूपान्तरण हुने भएको छ । नरहरिनाथ गाउँपालिकामा हालसम्म देखिएको नागरिक सहभागिता, संस्थागत समन्वय र परियोजनात्मक प्रभाव हेर्दा यो अभियानले स्थायित्व पाउने संकेत देखिएको छ। यदि यस्तै गति, समर्पण र सहकार्य कायम रह्यो भने नरहरिनाथ गाउँपालिका पूर्ण सरसफाईयुक्त पालिकाको रुपमा देशभर एक प्रेरक नमुना बन्ने पक्का देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS