कमल कोपिला
७ जेठ २०८२ कालिकोट । नेकपा (माओवादी केन्द्र) द्वारा आयोजित एकदिने सांगठनिक स्कुलिङ कार्यक्रम कालिकोट जिल्लाको शान्नी त्रिवेणी गाउँपालिकामा सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता माओवादी केन्द्रका नेता हर्क बहादुर ऐडीले गर्नुभएको थियो भने, प्रमुख अतिथिको रुपमा केन्द्रीय नेता जनकनाथ योगीको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रदेश जिल्ला समन्वय समितिका संयोजक डि.बी. शाही विशेष अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो। त्यस्तै, अन्य अतिथिहरूमा खड्गराज सेजुवाल, मिठु बम, दुर्गा काफ्ले, मनशोभा बुढा लगायतका नेताहरूको समेत उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले जनयुद्धका आदर्श र वर्तमान राजनीतिक अवस्था, संगठन सुदृढीकरण, युवा तथा कार्यकर्ता प्रशिक्षणका आवश्यकताबारे धारणा राख्दै आन्दोलन र संगठन निर्माणमा योगदान पुर्याउनुपर्नेमा जोड दिएका थिए।
स्थानिय तहदेखि केन्द्रसम्म पार्टीको सशक्त संगठन निर्माण गर्न युवाहरूको भूमिका अपरिहार्य रहेको भन्दै स्कुलिङमार्फत राजनीतिक चेतना अभिवृद्धि हुने विश्वास वक्ताहरूले व्यक्त गरेका थिए।


