कमल कोपिला
१२ जेठ, २०८२ कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिका स्थित नन्दादेवी माध्यमिक विद्यालय, कोटवाडाले आफ्नो ६४ औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दमन बहादुर बिष्टको अध्यक्षता, जिल्ला समन्वय समितिका संयोजक धनजित शाहीको प्रमुख आतिथ्य, र सामाजिक विकास कार्यालयका सामाजिक विकास अधिकृत रछाने लोहार, नरहरिनाथ गाउँपालिका वडा नं. १ का अध्यक्ष जगत बहादुर बिष्ट, वडा नं. २ का अध्यक्ष प्रेम बहादुर बिष्ट, गाउँपालिकाका शिक्षा अधिकृत दुर्गलाल न्यौपाने, नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी सदस्य अग्र बहादुर बिष्ट, रक्षा नेपालका कर्णाली प्रदेश संयोजक बिरेन्द्र बुढाको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षक अभिभावक संघ अध्यक्ष लोग बहादुर बिष्ट, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी, सुरक्षाकर्मी तथा पत्रकारको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि धनजित शाहीले गाउँघरको चर्चित उखान “पोटे भाँडो” को उल्लेख गर्दै प्रसंगवश त्यस्तै अवस्था सिर्जना हुने गरेको बताए । नमुना विद्यालयका रूपमा नन्दादेवी माविको उल्लेख गर्दै यसको निरन्तर प्रगतिमा सन्तुलित व्यवस्थापनको आवश्यकता औंल्याए। उनले आफू जिल्ला शिक्षा समितिको अध्यक्ष समेत भएकाले विद्यालयको समग्र अनुगमन र आवश्यक स्रोत व्यवस्थापनमा निरन्तर सक्रिय रहेको बताउँदै विद्यालयले देखाएको प्रतिबद्धता र उपलब्धिप्रति प्रशंसा जनाए। त्यस्तै, शिक्षा अधिकृत दुर्गलाल न्यौपानेले विद्यालयको गुणस्तर शिक्षा, भौतिक पूर्वाधार तथा व्यवस्थापनमा भएको सुधारप्रति सन्तोष व्यक्त गर्दै नन्दादेवी माविलाई नमुना शैक्षिक संस्थाका रूपमा स्थापित गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गरे। उनले विद्यालयमा शिक्षक तालिम, भौतिक पूर्वाधार विस्तार, विद्यार्थी अभिवृद्धि तथा आधुनिक शिक्षण विधिको प्रयोगमा गापा र अन्य निकायहरूसँग सहकार्य गरी निरन्तर सहयोग रहने वाचा गरे। विशेष अतिथि रछाने लोहारले विद्यालयको विकासप्रति आफू उत्साहित रहेको जनाउँदै आवश्यक आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।



विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दमन बहादुर बिष्टले विद्यालयमा पारदर्शिता, नवाचार र सबै पक्षको सहकार्यमा विकास र सुधार सम्भव भएको उल्लेख गरे। कार्यक्रमका अध्यक्ष बिष्टले कार्यक्रममा उपस्थित सबै अतिथि, अभिभावक, शिक्षक, कर्मचारी र विद्यार्थीलाई आभार व्यक्त गरे।

विद्यालयका प्रधानाध्यापक रत्नसिंह साउदले आर्थिक वर्ष २०८१/८२ को शैक्षिक, भौतिक र आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले सामूहिक प्रयासबाट गुणस्तरीय शिक्षाको दिशामा अग्रसर भइरहेको बताए। विद्यालयले गुणस्तर सुधारतर्फ चालेका कदमहरूबारे जानकारी दिँदै ‘नयाँ शिक्षक आए भोजभतेर होइन, विद्यालयलाई आर्थिक सहयोग गरौं’ भन्ने चलनको सुरुवात विद्यालयले गरेको बताए। उनले विभिन्न निकायको सहयोगमा निर्मित बालमैत्री भवन, छात्रा शौचालय, महिनावारी स्वच्छता कक्ष, कम्प्युटर कक्ष, विज्ञान प्रयोगशाला, श्रव्यदृश्य कक्षा, इन-आउट कार्ड, विद्युतीय घण्टी, हेलो अभिभावक कार्यक्रम, गृहकार्य अनुगमन प्रणाली, सूचना अधिकारीको व्यवस्था, स्वच्छता निरीक्षण, अभिभावक शिक्षक अन्तरक्रिया लगायतका अभ्यासहरू नियमित रूपमा सञ्चालन भइसकेको जनाए।

विद्यालयमा हाल ४८४ जना विद्यार्थी ईसिडी देखि कक्षा १२ सम्म अध्ययनरत छन् भने अन्य विद्यालयबाट आएका विद्यार्थीहरूको ई-मिस प्रविष्टि बाँकी रहेको छ। परीक्षामा जम्मा २ प्रतिशत मात्र अनुत्तीर्ण विद्यार्थी देखिएको छ। भवनको सन्दर्भमा २ वटा पक्की भवन निर्माण भइसकेका छन् । खानेपानी व्यवस्थापनमा सुधार भइरहेका छन् भने प्रदेश सरकारको “मुख्यमन्त्री डिजिटल विद्यालय कार्यक्रम” अन्तर्गत आवश्यक सामग्री खरिद प्रक्रिया अगाडि बढिसकेको छ।

खेलकुदमा विद्यालयको सशक्त उपस्थिति रहेको छ। हालै सम्पन्न राष्ट्रपति रनिङ शिल्डको जिल्लास्तरीय प्रतियोगितामा विद्यालयका विद्यार्थीहरूले ६ स्वर्ण पदक जितेर विद्यालयको प्रतिष्ठा उचो बनाएका छन्। यस्तै, गाउँपालिकाद्वारा सञ्चालन हुने हाजिरीजवाफ, वक्तृत्वकला, निबन्ध लेखन जस्ता विविध गतिविधिमा समेत विद्यालयको सहभागीता उल्लेखनीय रहँदै आएको छ। विशेषगरी एथलेटिक्सतर्फ विद्यालयका विद्यार्थीहरूमध्ये सुष्मिता कठायतलगायतले उत्कृष्ठ प्रदर्शन गर्दै आएकी छन्।

सो विद्यालय सन् २०१८ मा स्थापना भएको हो। स्थापना कालदेखि वर्तमानसम्म विभिन्न व्यक्तित्वहरूले प्रशासनिक र शैक्षिक क्षेत्रमा अतुलनीय योगदान पुर्याएका छन्। विद्यालयले पूर्व शिक्षक, कर्मचारी, व्यवस्थापन समितिका पूर्व अध्यक्षहरू लगायत योगदान दिने व्यक्तित्वहरूलाई विशेष सम्मानसमेत गरेको थियो। विद्यालयले सामूहिक एकता, प्रतिबद्धता र योजनाबद्ध कार्यदिशामार्फत शैक्षिक तथा भौतिक विकासलाई संस्थागत गर्दै लगेको प्रष्ट देखिन्छ।



कार्यक्रममा परम्परागत बाजा भारिखेल प्रयोग गर्दै छुम्काको भाका, नाचगान, देउडा गीति नाटक तथा विविध सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए, जसले कार्यक्रममा रौनक थपेको थियो। विद्यालयलाई अझै वातावरणमैत्री, समावेशी र सूचना-प्रविधिमैत्री बनाउँदै लानुपर्ने आवश्यकतालाई ध्यानमा राखी सबै पक्षले थप सहयोग गर्नुपर्नेमा कार्यक्रममा जोड दिइएको थियो ।



