कमल कोपिला । जुम्ला जिल्लाको पातारासी गाउँपालिका वडा नं ६ मा अवस्थित श्री गौरी आधारभूत विद्यालयमा अध्ययनरत करिब १६० जना विद्यार्थीलाई शिक्षासामाग्री, पोशाक तथा सरसफाइ सामग्री वितरण गरिएको छ।

समाजसेवी दल बहादुर बुढाको सक्रिय पहल र समन्वयमा काठमाण्डौंस्थित यूम्स् नेपाल (UEMS-Nepal) द्वारा उक्त सहयोग उपलब्ध गराइएको हो। वितरण गरिएका सामग्रीमा कपी, पेन, पेन्सिल, ज्यामेट्री बक्स, रङ तथा साइनपेन, १६० सेट टिसर्ट ड्रेस, १६० थान स्कुल झोला, साथै सरसफाइ सामग्री सहित किट झोला समावेश छन्।

उक्त सहयोग सामाग्रीको औपचारिक हस्तान्तरण यूम्स् नेपालका अध्यक्ष प्रेमसिंह महर्जन, कोषाध्यक्ष लक्ष्मी बेन्जनकार र स्थानीय समाजसेवी दल बहादुर बुढा द्वारा संयुक्त रूपमा सम्पन्न गरिएको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, वडा नम्बर ६ का वडा अध्यक्ष, विद्यालयका प्रधानाध्यापक तुलसिंह महतारा, शिक्षकगण जनक महतारा, रमिला बुढा, दल बहादुर महतारा लगायत गाउँका विशिष्ट व्यक्तिहरू, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको दौरान बोल्दै समाजसेवी बुढाले ग्रामीण भेगका विद्यार्थीहरूका लागि गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्न यस्ता सहयोगले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। यस्तै, यूम्स् नेपालका अध्यक्ष प्रेमसिंह महर्जनले आगामी दिनमा पनि ग्रामीण शिक्षा क्षेत्रमा संस्थाको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए। साथै, विद्यालयका प्रधानाध्यापक तुलसिंह महताराले सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै विद्यार्थीहरूको शिक्षामा थप हौसला मिल्ने विश्वास व्यक्त गरे।

ग्रामीण भेगमा शिक्षाको उज्यालो फैलाउने उद्देश्यले गरिएको यस्तो सहयोगले विद्यार्थीहरूमा उत्साह थपिएको देखिएको छ।



