कमल बिष्ट
२८ जेठ, कालिकोट । नरहरिनाथ गाउँपालिकामा लैङ्गिक समानता, अपांगता र सामाजिक समावेशीकरणका साथै समुदायमा विद्यमान हानिकारक मूल्यमान्यता अन्त्यका लागि लक्षित पालिका स्तरीय बृहत छलफल कार्यक्रम सम्पन्न भएको छ।
आई.एन.एफ. नेपाल कालिकोट शाखाको पावर परियोजनाको आर्थिक सहयोग र महिला, बालबालिका तथा समाज कल्याण इकाई, नरहरिनाथ गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, धार्मिक अगुवा, महिला सञ्जाल, संघसंस्थाका प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी तथा सरोकारवाला निकायहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रम महिला तथा बालबालिका तथा समाज कल्याण इकाई प्रमुख सरिता बिष्टको अध्यक्षता र उपाध्यक्ष कमल कुमार शाहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि शाहले समावेशी नीति निर्माणका लागि समुदायको सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै, यस कार्यक्रमलाई प्रभावकारी कदमको रूपमा व्याख्या गरे।
छलफलमा सहभागीहरूले गाउँपालिकामा विद्यमान लैङ्गिक हिंसा, अपांगता र सामाजिक विभेदसम्बन्धी चुनौतीहरूबारे अनुभव र दृष्टिकोण साटासाट गरे। कार्यक्रममा नरहरिनाथ गाउँपालिकामा लागू गरिन लागिएको “लैङ्गिक समानता, अपांगता र सामाजिक समावेशीकरण नीति २०८२” को खाका निर्माणका लागि सुझाव संकलन गरियो। सोही अवसरमा पाँच सदस्यीय नीति खाका निर्माण समिति गठन गरियो, जसको संयोजक उपाध्यक्ष शाहलाई तोकिएको छ।
समितिले आगामी २०८२ असार ५ गतेसम्म नीति तयार गरी प्रस्तुत गर्ने निर्णय भएको छ। कार्यक्रममा कम्युटर अपरेटर विपिन भट्टराईले संचालनको भूमिका निर्वाह गरेका थिए भने सरिता बिष्टले सहजीकरण गरेकी थिइन्।
यो कार्यक्रम नरहरिनाथ गाउँपालिका भित्र समावेशी, समान र दिगो समाज निर्माणतर्फको सार्थक प्रयासको रूपमा लिइएको छ।


