कमल कोपिला
६ असार, कालिकोट । पाँच वर्षको प्रतिक्षा, निरन्तर आलोचना, र उपेक्षाका बाबजुद अन्ततः कालिकोटको नरहरिनाथ गाउँपालिका स्थित रहगाड खोलामा बहुप्रतीक्षित झोलुंगे पुल निर्माण सम्पन्न भएको छ। अब स्थानीयवासीलाई खोलाको जोखिमपूर्ण यात्रा होइन, सुरक्षित आवागमनको सुविधा प्राप्त भएको छ।

२०७७ साल साउन १३ गते पहिरो खस्दा झोलुंगे पुल भाँचिएपछि कोटवाडा र लालु, माल्कोट जोड्ने रहगाड खोला केही वर्षयता समस्याको केन्द्रमा रहेको थियो। स्थानीय सरकारको सक्रियता भएतापनी, उपभोक्ता समितिहरूको कमजोरी र प्राविधिक चुनौतीका कारण पटक-पटक बजेट छुट्याइए पनि काम अघि बढ्न सकेको थिएन। सामाजिक सञ्जालमा लगातार आलोचना भइरहँदा पनि पुलको निर्माण लम्बिदै गएको थियो।

तर, चालू आ.व. २०८१-८२ को आर्थिक वर्षमा गाउँपालिकाको बिशेष पहल, जिम्मेवार उपभोक्ता समिति र समन्वयकारी नेतृत्वको कारण यो पुल अन्ततः पूर्ण भएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलले यो तेस्रो पटकको समिति रहेको र यसपटक समयमै समिति गठन भयो, काम सुरु भयो र निर्माण कार्य सकिएको बताउनुभयो । “निर्माणको क्रममा सामानको ठेक्का बुटवलको ठेकदारले पार्नुभयो, म स्वंयम् सम्झौता गर्न बुटवल गएको हो। ल्याब परीक्षण गर्ने काम पनि समयमै भयो। यसमा विशेष योगदान दैलेखका दाजु राजेश सिंह को छ। उहाँसँग सम्पर्क गर्न निकै कोशिस गरियो, सम्पर्क भएपश्चात उहाँको सहयोग निरन्तर रह्यो। गाउँपालिकाका उपाध्यक्षको फलोअप पनि र निगरानी निरन्तर रह्यो। उपभोक्ता समितिको मेहनत पनि प्रशंसनीय रह्यो। लागत करिव ५६ लाख हाराहारीमा पुग्ने देखियो, यो लागत साामाग्री सहितको हो।” उनले भने ।

सो झोलुङ्गे पुल निर्माणका लागि आ. व. २०७९/८० मा रु. ४० लाख बजेट बिनियाेजन गरिएकाे थियाे। र त्यसका लागि उपभोक्ता समिती जगत बि.क. गाेबिन्द बिष्ट र दर्शना बिष्टको नेतृत्वमा काम जिम्मा दिईएकाे थियाे। र उहाँहरुले समयमा काम गर्न नसक्दा रु. १२ लाखको मात्र काम भएको बताईन्छ । त्यस पछि, आ.व. २०८०/८१ मा फेरि जमानसिह बिष्टकाे नेतृत्वमा पनि पुल सम्पन्न गर्ने हिसाबले बजेट छुट्याईयो । सो टिम पनि असफल बनेको हो । गाउँपालिकाले आफ्नै बजेट चालू आ.व. मा रु. ५० लाख विनियोजन गरेको थियो । सो बजेट पुलकाे स्टक्चर अनुसार तथा सामान ढुवानि गरि निर्माण गर्न अहिलेको समितीमा रहेका कुल बहादुर बिष्टको नेतृत्वलाई प्रशंसा समेत गर्न सुरु गरिएको छ ।

गाउँपालिकाका उपाध्यक्ष कमल कुमार शाहको नेतृत्वमा निरन्तर अनुगमन भयो भने, उपभोक्ता समितिको सक्रियता निर्णायक बनेको हो । कुल ५६ लाख हाराहारीको लागतमा सम्पन्न पुल LSTB मोडेलमा निर्माण भएको हो, जुन अन्य पुलभन्दा फरक र मजबुत प्रकृतिको रहेको छ।

गाउँपालिकाका प्रवक्ता प्रदिप बोहोराले विगतका समितिहरूको कमजोरीका कारण स्थानीय तह आलोचित बन्नुपरेको बताउँदै यसपटकको सफलताले आलोचना पनि सकारात्मक सोचतर्फ मोडिएको बताए।

वडा नं. ८ का अध्यक्ष लाल बहादुर बिष्टले विगतमा बजेट विनियोजन, नेतृत्व र प्राविधिक कमजोरीका कारण काम रोकिएको स्वीकार्दै यसपटकको कार्यदक्ष टिमको खुलेर प्रशंसा गरे। उनले भने, “यो काम केवल कसैले व्यक्तिगत रुपमा गरेजस्तो मात्र हैन, सबैको संलग्नता र त्यागले सफल भएको हो।”

पुलको निर्माण कार्यमा कुल बहादुर बिष्ट, कमल बिष्ट, अग्रबहादुर बोहरा, कमला विक लगायतको टोलीको समर्पण प्रमुख रहेको बताइएको छ। फलामे डोरीको अनुमती जस्ता विभिन्न महत्त्वपूर्ण कामका लागि सरकारले निकै मेहनत गर्नु परेको अध्यक्ष नगेन्द्र बिष्ट सम्झिन्छन्।

रहगाड पुल र पाण्डब बिष्ट:

रहगाड पुल मात्र एक भौतिक संरचना होइन, यससँग गाँसिएको छ कलाकार पाण्डव बिष्टको संघर्षको कथा पनि। सो पुल बारे कलाकार पाण्डब बिस्टले गित गाएका थिए । “रहगाड रमाईला पुल” बोलको गित निकै चर्चित गित हो। उनी व्यक्तिगत समस्याका कारण स्वास्थ्य अवस्था नाजुक हुदा कलाकारितामा उनको भविस्य एक समय जिर्ण हुँदै गएको थियो । “रहगाड रमाइला पुल” बोलको गीतले चर्चित बनेका बिष्टलाई कतिपयले उपेक्षा गरे, आलोचना गरे। तर स्वास्थ्य समस्याबाट गुज्रिरहेका बिष्टलाई गाउँपालिकाले नै रोजगारी दिएर उनको सांगीतिक यात्रा पुनः जीवन्त बनाएको छ। त्यसैले, रहगाड पुल र कलाकार पाण्डब बिष्ट सधैं जोडिन्छन ।

रहगाडको पुल अब केवल एक आवागमनको माध्यम छैन। जनताको आवाज, सरकारको जवाफ, प्रशासनको कार्यदक्षता र स्थानीयहरूको समर्पणको प्रतीक बनेको छ । अब कोटवाडा, लालु र माल्कोटवासीलाई जोखिमपूर्ण फलेकको साँघु होइन, सुरक्षित पुलमा हिँड्न पाइनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS