कमल कोपिला
६ जेठ, २०८२ कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिका ‘पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका’को रूपमा औपचारिक रूपमा घोषणा गरिएको छ। १६ देखि २७ महिनासम्मका बालबालिकाहरूले सम्पूर्ण खोपको मात्रा पूरा गरेको सुनिश्चिततापछि उक्त घोषणा गरिएको हो।

गाउँपालिकाभित्र रहेका सबै ९ वटा वडामा बालबालिकाहरूले राष्ट्रिय खोप तालिकाअनुसार तोकिएको उमेर समूहमा आवश्यक सबै खोपहरू लिएको पुष्टि भएपछि यो उपलब्धि हासिल गरिएको हो। साथै, १५ महिनाभन्दा कम उमेरका बालबालिकाहरूले नियमित रूपमा खोप लिइरहेका छन् भने १६ देखि ५९ महिनासम्मका बालबालिकाहरूले पनि पूर्ण खोप लिइसकेका छन्। यसै आधारमा गाउँपालिकालाई ‘पूर्णखोप सुनिश्चितता दिगोपना पालिका’ घोषित गरिएको हो।

स्वास्थ्य शाखा प्रमुख मानबहादुर सहकारीका अनुसार पोलियो, दादुरा, हेपाटाइटिस, जापानीज इन्सेफ्लाइटिस, रुबेला, झाडापखाला, टाइफाइड लगायत १३ प्रकारका रोगविरुद्ध बालबालिकालाई दिइने सबै खोपको मात्रा पूरा भइसकेको छ। उनले भने, “स्वास्थ्य शाखाको समन्वय, स्वयंसेवकहरूको सक्रियता र आम जनताको सहभागिताले गर्दा यो सम्भव भएको हो।”
‘पूर्णखोप, सुरक्षित भविष्य’ भन्ने मूल नाराका साथ आयोजित विशेष समारोहमा नरहरिनाथ गाउँपालिकालाई पूर्णखोप दिगोपना पालिकाको रूपमा औपचारिक घोषणा गरिएको हो।

कार्यक्रममा नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्टले “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप पालिका हाम्रो प्रतिबद्धता” भन्ने प्रतिबद्धता व्यक्त गर्दै भविष्यमा पनि यो स्थिति कायम राख्नका लागि पालिका प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। उहाँले थप भन्नुभयो, “गाउँपालिका भित्रका सबै वडाहरूलाई पूर्णखोप सुनिश्चितता घोषणा गरिसकेपछि मात्रै समग्र पालिका घोषणा गरिएको हो।”

घोषणासभामा जिल्ला समन्वय समिति कालिकोटका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक धनजित शाही प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। साथै, समितिका सहसंयोजक मिना रावत बिक, सदस्य धनसरा बिष्ट, जिल्ला खोप समन्वय समितिका सदस्य कटक बहादुर महत, सबै वडा अध्यक्षहरू, स्वास्थ्य शाखा प्रमुखहरू, स्वास्थ्यकर्मीहरू तथा सरोकारवाला निकायहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यस घोषणाले नरहरिनाथ गाउँपालिका भित्रको बाल स्वास्थ्य तथा रोगप्रतिरोधात्मक प्रणाली सुदृढ र व्यवस्थित हुँदै गएको सन्देश दिएको छ। अब पालिकाको चुनौती यो उपलब्धिलाई निरन्तरता दिँदै भावी पुस्ताको सुरक्षित स्वास्थ्य सुनिश्चित गर्नु रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS