कमल कोपिला
७ असार २०८२ कालिकोट ।
खोपको पहुँचलाई मानव अधिकारसँग जोड्दै सान्नी त्रिवेणि गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।

स्वास्थ्य शाखा र गाउँपालिका खोप समन्वय समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिका खोप समन्वय समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष मोहन बहादुर के.सी.को अध्यक्षता र जिल्ला खोप समन्वय समिति सह-संयोजक तथा जिसस उपप्रमुख मिना रावतको प्रमुख आतिथ्य रहेको थियो।

“श्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप पालिका, हाम्रो प्रतिबद्धता” भन्ने सन्देशसहित भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पार्वती सिंह संज्याल, जनस्वास्थ्य अधिकृत कटक बहादुर महत, प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर बडुवालको बिशेष आतिथ्यतामा, सम्पूर्ण वडाध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न शाखाका प्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, बाल क्लब, किशोर-किशोरी तथा आमासमूहको व्यापक सहभागिता देखिएको थियो।

कार्यक्रमको सञ्चालन धिरेन्द्र बहादुर के.सी. ले गर्नुभएको थियो । स्वास्थ्य शाखा प्रमुख तथा सदस्य सचिव सुदर्शन बमले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार, सान्नित्रीवेणि गाउँपालिकाको कूल जनसंख्या १३,५८३ रहेकोमा जिवित जन्म संख्या २३३, १ वर्ष मुनिको जन्मसंख्या २२८, १२ देखि २३ महिना सम्म २२६, ५ वर्ष मुनिको जनसंख्या १०७७, १५-४९ वर्षका बिवाहित महिला २९६४ जना छन ।

यस वर्षभित्र विभिन्न खोप दिएकोमा, बिसिजी संख्या १४९, डि.पि.टी. हेप.बि.हिब १ संख्या १५७, ओ.पि.भि. ३ संख्या १३६, पि.सि.भि.३ संख्या ११५, रोटा २ संख्या १३३, एफ. आइ.पी.भि १ संख्या १३८, जे.ई. संख्या १५८, टि.डि. २ र +२ संख्या १३५, २३ म. भित्र पुर्ण खोप प्राप्त बालबालिका १६६, र डि.पि.टि. – हेप बि १ – दादुरा रुबेला दोस्रो बिचको ड्रप आउट दर -५.७३% रहेको छ भने दादुरा–रुबेला २ खोप १६६ बालबालिकाले प्राप्त गरेका छन्।

यस अघि गाउँपालिकाले खोप सुनिश्चितताको लागि बिं सं २०८२ को श्रावण महिनामा खोप सुक्ष्म योजना गोष्ठी, अर्धवार्षिक समिक्षा, टोल बस्तीमा घरधुरी सर्वेक्षण, खोप छुट बालबालिकालाई खोप सेवा, तथा नमुना सर्वेक्षण सहितका महत्वपूर्ण कार्यहरू गर्दै ९ वटै वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरेको थियो ।

कार्यक्रममा बोल्दै, महिला स्वास्थ्य स्वयंसेविकाले सेवा सुविधा अभावका बाबजुद पनि जिम्मेवारीबाट नहटेको भन्दै “हामी बोल्न थाल्यौं, अब सुनिदिने वातावरण पनि होस्, भोको गोरु जोतिनुहुदैन” र केही प्रोत्साहन स्वरुप गाउँपालिका लगायतले आफुहरुको समस्या बुझिदिन पर्ने भन्दै जोडदार माग गरेकी छन । उपाध्यक्ष संज्यालले योजना वितरणमुखी बनाउने तर लक्षित कार्यक्रम नल्याउदा, कार्यान्वयनमा चुकेर लक्ष्यहरू ओझेलमा पर्न सक्ने चेतावनी दिँदै, “पूर्ण खोप केवल एक कार्यसूची होइन, यो सन्तानको भविष्य हो,” भन्दै दिगोपनामा गम्भीरता देखाउन आग्रह गरिन्।

जनस्वास्थ्य अधिकृत कटक बहादुर महतले भने, “सान्नी त्रिवेणि गाउँपालिका कालिकोटको पाँचौं पालिका हो जसले पूर्ण खोप सुनिश्चितता घोषणा गरेको छ।” अब ठुलो चुनौतीको रुपमा रहेको कुरा, भारततर्फ बसोबास गर्नेहरू बालबालिकालाई पनि समेट्नुपर्ने धारणा राखेका छन । प्रमुख प्रशासकीय अधिकृत बडुवालले खोपलाई स्वास्थ्यको आधारशिला भन्दै, अब व्यवहारिक प्रतिबद्धता देखाउने बेला आएको बताएका छन।

प्रमुख अतिथि मिना रावतले नीति, योजना र बजेट निर्माणमा यस्ता सार्वजनिक स्वास्थ्य मापदण्डहरूलाई प्राथमिकतामा राख्न आग्रह गरिन्। साथै, गाउँपालिका अध्यक्ष मोहन बहादुर के.सी. ले कार्यक्रमको समापन गर्दै पालिकालाई पुर्ण खोप सुनिश्चितता बनाउन सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिएका छन । ,“आजको घोषणा खुशीको दिन हो तर यसले मात्र पुग्दैन। हिजोका दिनमा बच्चा जन्मिनुअघि नै ज्यान गुम्ने अवस्था थियो। आज विज्ञानले गर्भमै सुरक्षित बनाएको छ। हामी सबै जिम्मेवार भएर अब यो स्थायीत्वमा बदल्नु पर्छ।” उनले भने ।

कार्यक्रममा स्वास्थ्यकर्मी एवम् सबै वडाहरूलाई सम्मान पत्र प्रदान गरिएको छ।

साथै, ५ बुँदे प्रतिबद्धता पत्र पनि सार्वजनिक रूपमा प्रस्तुत गरिएको थियो। जसमा दिगोपनाको आधार तय गरिएको छ। सान्नी त्रिवेणिको यो घोषणा नमुना पालिकातर्फको अग्रसर प्रयास मात्र नभई नेपालको सार्वभौमिक खोप पहुँच नीतिप्रति पालिकाले गहिरो प्रतिबद्धता पनि गरेको छ ।

सुरक्षाको सिंहद्वार खोलेर, पालिकाले बालबालिकाको भविष्य सुरक्षित बनाउने बाटो खोलेको सहभागीले बताएका छन ।



