कमल कोपिला/चन्द्र भट्टराई
१० असार २०८२, कालिकोट ।
“स्थानिय सरकारको जिम्मेवारी, मिशन रोजगारी, सरोकारवाला सबैको साझेदारी” भन्ने मूल नारासहित नरहरिनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। असार १० गते गाउँसभाको १७ औं अधिवेशनमा गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्टले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। नरहरिनाथ गाउँपालिकाको नाम समेत संशोधन गरी “योगी नरहरिनाथ गाउँपालिका” बनाउनका लागि प्रदेश सरकार र संघीय सरकारसँग आवश्यक समन्वय गर्ने, साथै पालिकालाई नगरपालिका बनाउनका लागि आवश्यक पहल गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

गाउँपालिकाले “स्थानीय तहको जिम्मेवारी, मिशन रोजगारी, सरोकारवाल सबैको साझेदारी” कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ। सडक गुरुयोजना निर्माण गरी गाउँपालिका भित्र भएका सम्पूर्ण पूर्वाधारहरूको डिजिटल प्रोफाइल तयार गरी एकीकृत विवरण संकलन गरिनेछ। निर्माणाधीन अवस्थामा रहेको रिङ्गरोडको कार्यलाई तीव्ररूपमा अगाडि बढाई सबै वडा तथा गाउँ बस्तीलाई पालिकासँग जोडिनेछ। गाउँपालिका बासिन्दाहरूलाई सहज यातायात पहुँच पुर्‍याउन, सडक निर्माण तथा सुधारका कार्यहरू छिटोछरितो गर्नका लागि सडक एम्बुलेन्सलाई निरन्तरता दिइनेछ।

गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नका लागि संघीय सरकारको १५ सैयाको अस्पताल निर्माण गर्ने अवधारणाअनुरूप प्राथमिक स्वास्थ्य केन्द्र कुमालगाउँलाई “योगी नरहरिनाथ आधारभूत अस्पताल” घोषणा गरिसकिएकाले भौतिक पूर्वाधार निर्माणका लागि संघीय सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आवश्यक समन्वय तथा सहजीकरण गरी यसै आर्थिक वर्षभित्र ठेक्का प्रक्रिया अगाडि बढाइनेछ।

गाउँपालिका बासिन्दालाई विद्युतको पहुँच पु¥याउन, विद्युत विस्तार भइसकेका वडाहरूमा थप विस्तार गरिनेछ भने बाँकी रहेका टोल बस्तिहरूमा राष्ट्रिय प्रसारण लाइन विस्तार गरि विद्युत जडानका लागि आवश्यक पहल गरिनेछ। वडा नं. १, २, ३ र पालिकाको केन्द्र कुमालगाउँमा अप्टिकल फाइबर इन्टरनेट पुगिसकेको छ भने बाँकी रहेका वडा तथा सरकारी कार्यालयहरूमा २०८२/०८३ मा अप्टिकल फाइबर इन्टरनेट जडान तथा विस्तार गर्नका लागि आवश्यक पहल गरिनेछ।

यसैगरी, आर्थिक वर्ष २०८२/८३ को साउन महिनादेखि दर्ता चलानी, योजना तथा कार्यक्रम व्यवस्थापन सम्झौता प्रणाली, बैठक प्रणाली, मासिक प्रगति प्रतिवेदन प्रणाली, जेष्ठ नागरिक/अपाङ्ग व्यक्ति विवरण अभिलेख प्रणालीजस्ता सफ्टवेयरहरू सञ्चालन गर्नका लागि आवश्यक बजेट विनियोजन गरिनेछ। सूचना प्रविधि सम्बन्धी वडा सचिव र शाखा प्रमुखहरूलाई क्षमता विकास तालिमको व्यवस्था गरि पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ।

नीति तथा कार्यक्रममा गाउँपालिका पदाधिकारी र कर्मचारीहरूको आचरण जनभावना अनुकूल बनाउन पदाधिकारीहरूको आचारसंहिता र कर्मचारीको पेशागत आचारसंहिता तयार गरि पूर्ण रूपमा कार्यान्वयन गरिनेछ। योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा करार कर्मचारी तथा ज्यालादारी श्रमिकहरूलाई आबद्ध गरिनेछ। जनयुद्ध र जनआन्दोलनका सहिद तथा घाइते अपाङ्गता भएका परिवारहरूलाई आयआर्जन तथा सीपमूलक कार्यक्रम सञ्चालन गरिनुका साथै सम्मान गरिनेछ।

शिक्षा क्षेत्रमा विद्यालयहरू थप व्यवस्थित बनाउन नन्दादेवी मा.वि. कोटवाडा, रमा मा.वि. कालाशिल्ला, जनता मा.वि. रुप्सा, शान्ति मा.वि. रातिमाटा, नन्दादेवी मा.वि. सेरापाटा र जनप्रभात मा.वि. लालको गुरुयोजना तयार गरिनेछ। एक घर एक धारा कार्यक्रमअन्तर्गत बाँकी रहेका घरधुरीहरूमा स्वच्छ खानेपानीको पर्याप्त आपूर्ति गर्न संघीय, प्रदेश सरकार र गैरसरकारी सेवा प्रदायक संस्थासँग सहकार्य गरिनेछ। कृषि तथा कृषि जन्य पदार्थको बजारीकरण गर्न खाद्य संस्थानसँग समन्वय गरिनेछ भने नागरिकहरूलाई घरआँगनमै नुनको सेवा उपलब्ध गराउन साल्ट ट्रेडिङ्ग लिमिटेडसँग सहकार्य गरिनेछ।

गाउँपालिकाको केन्द्र कुमालगाउँ, सैनेखोला रुप्सा र सर्गा रुप्सा सडक खण्डमा रहेको कडा चट्टान भागलाई विस्फोट गर्न नेपाली सेनासँग समन्वय गरि आवश्यक प्रक्रिया अगाडि बढाइनेछ। विपन्न नागरिकसँग अध्यक्ष कार्यक्रम र कृषकसँग उपाध्यक्ष कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइनेछ।

गाउँपालिकामा सञ्चालित संघीय तथा प्रदेश सरकारबाट प्राप्त समपुरक तथा विशेष अनुदान, बहुवर्षीय र स्रोत सुनिश्चित योजनाहरू प्राथमिकताका आधारमा सम्पन्न हुने गरी बजेट विनियोजन गरिनेछ। व्याप्त बेरोजगारी कम गर्न र आन्तरिक रोजगारी सिर्जना गर्न नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सञ्चालित राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम र कर्णाली प्रदेश सरकारद्वारा सञ्चालित मुख्यमन्त्री कर्णाली रोजगार कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ।

झोलुङ्गे पुल निर्माणका लागि विकास साझेदार संघसंस्थाहरू सँग आवश्यक समन्वय गरिनेछ। सामुदायिक बीउ बैंक तथा जैविक कृषि प्रवर्द्धन कार्यक्रममार्फत स्थानीय, रैथाने तथा उन्नत जातका कृषि बाली वस्तुको बीउ संकलन, संरक्षण र उत्पादन वृद्धि गरिनेछ। प्रत्येक वर्ष चैत्र २६ गतेलाई स्थानीय शहीद दिवसको रूपमा मनाई स्थानीय विदा दिइनेछ।

सोही क्रममा, नरहरिनाथ गाउँपालिकाले गाउँ सभाबाट कृषि तथा पशु सेवा क्षेत्रमा योगदान दिने कृषकलाई प्रमाणपत्र सहित सम्मान पनि गरेको छ ।

गाउँपालिका उपाध्यक्ष कमल कुमार शाहले आर्थिक वर्ष २०८२/०८३ का लागि ५१ करोड ८३ लाख ८० हजार ५ सय रुपैयाँको बजेट प्रस्तुत गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS