कमल कोपिला
११ असार कालिकोट । जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाको १६ औँ गाउँसभा “कृषि, पर्यटन, जल जंगल हाम्रो पहिचान, शिक्षा, स्वास्थ्य, रोजगार हाम्रो मौलिक सान” भन्ने नाराका साथ मंगलबार भव्यरुपमा सम्पन्न भएको छ।
गाउँसभाबाट आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ४१ करोड ९२ लाख ६२ हजार ४१ रुपैयाँ ४६ पैसाको बजेट सार्वजनिक गरिएको छ। प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर बडुवालका अनुसार, गाउँपालिकाले तीनै तहका सरकारले असार १० भित्र नीति, कार्यक्रम र बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो।

सभामा बोल्दै गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी वर्षका लागि नीति तथा कार्यक्रम ल्याइएको बताउनु भयो । गुणस्तरीय शिक्षाका लागि जनप्रतिनिधि तथा कर्मचारीका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गराउने, उत्कृष्ट शिक्षकलाई सम्मान गर्ने व्यवस्था, बाँझो जमिनमा समूह बनाएर कृषि खेती गर्ने अभ्यासलाई प्रोत्साहन र अनुदान दिने नीति लिइएको छ। साथै पालिकालाई डिजिटल बनाउने, खेलकुद पूर्वाधार निर्माण गर्ने र पर्यटन प्रवर्द्धन तथा प्रचारप्रसारमा ध्यान केन्द्रित गरिएको पनि जानकारी दिनुभयो ।
गाउँपालिका उपाध्यक्ष पार्वती सिंह संज्यालले बजेट प्रस्तुत गर्दै चालु खर्चतर्फ ३२ करोड ८१ लाख ७२ हजार १ सय ७३ रुपैयाँ ४६ पैसा र पुँजीगत खर्चतर्फ ९ करोड १० लाख ८९ हजार ८ सय ६८ रुपैयाँ विनियोजन गरिएको बताउनुभयो । आन्तरिक स्रोत तथा राजस्वबाट ४७ लाख २५ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ। शिक्षा क्षेत्रमा १ करोड ९१ लाख, स्वास्थ्यमा २० लाख, कृषिमा ९ लाख र पशुपन्छी विकासमा १३ लाख रुपैयाँ छुट्याइएको छ। विपद् व्यवस्थापनमा २० लाख, रोजगार कार्यक्रमका लागि ३९ लाख ७२ हजार, दलित लक्षित कार्यक्रममा ७ लाख, शहीद तथा वेपत्ता परिवार र घाइतेहरूको लागि ३ लाख बजेट विनियोजन गरिएको छ। वडा कार्यालयहरूको लागि चालु खर्चतर्फ ३२ लाख ४० हजार र पुँजीगत तर्फ २ करोड ७ लाख रुपैयाँ विनियोजन गरिएको छ।
गत आर्थिक वर्ष २०८१/८२ मा विनियोजित ३९ करोड ६१ लाख ६२ हजार ९ सय ३७ रुपैयाँमध्ये हालसम्म ३४ करोड २२ लाख ८५ हजार २ सय ८९ रुपैयाँ आम्दानी भएको र त्यसको ५७.४ प्रतिशत अर्थात २२ करोड ७३ लाख ९९ हजार ३ सय ९० रुपैयाँ खर्च भएको जानकारी गराइएको छ।
गाउँसभा कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति कालिकोटका प्रमुख धनजित शाहीले बजेटले जनताको आधारभूत आवश्यकता सम्बोधन गर्ने विश्वास व्यक्त गर्दै दिगो विकास लक्ष्य अनुरूप नीति र कार्यक्रम कार्यान्वयनमा जोड दिए। उनले बजेटको न्यायोचित वितरण, प्रभावकारी कार्यान्वयन र समग्र विकासलाई नयाँ उचाइमा लैजान सुझाव दिँदै सभाको सफलताको शुभकामना पनि व्यक्त गर्नुभयो ।
सभाको अध्यक्षता गाउँसभा अध्यक्ष महेश केसीले गर्नुभएको थियो भने उपाध्यक्ष पार्वती सिंह र सभाको सचिव प्रेम बडुवाल हुनुहुन्थ्यो। गाउँसभाबाट स्थानीय तहको आर्थिक ऐनअन्तर्गत बजेट कार्यान्वयन गर्न आवश्यक विधेयक पनि पारित गरिएको छ। सभाअध्यक्ष केसीले सबै उपस्थित जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालालाई धन्यवाद दिँदै आगामी वर्षका लागि नयाँ रणनीति र कार्ययोजनासहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।


