कमल कोपिला
असार १३ कालिकोट । कर्णाली प्रदेश सरकार र नरहरिनाथ गाउँपालिकाको समपूरक बजेटमार्फत निर्माण हुने छेपाडेखर्कदेखि अछाम जिल्लाको सिमाना जोड्ने सडक खण्ड अन्तर्गतको निर्माण कार्य औपचारिक रुपमा सुरु भएको छ।
नरहरिनाथ गाउँपालिका–०९ को रानिखेत, बनघर, ब्युराकोट, खाटेपडा खाल, टावर छेपाडेखर्क, पाल्त, बेडुगडा हुँदै कालाभिर, बर्जु मन्दिर, रामारोशन, साथै छेपाडेखर्क, अल्लेना, नाव, काठपाते हुँदै तामकोटसम्मको सडक गुरुयोजना अनुसार निर्माण कार्य थालनी गरिएको हो।

उक्त आयोजनाको शिलान्यास नरहरिनाथ गाउँपालिकाका उपाध्यक्ष कमल कुमार शाहले गर्नु भएको हो। प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन (IEE) गर्दा केही समय लागे पनि यो बहुवर्षीय ठेक्का योजना भएकाले निरन्तर निर्माण कार्य अगाडि बढाइने जानकारी गराइएको छ।
सडक निर्माण कार्य थ्री आर कन्स्ट्रक्सन, खाडाचक्र–१ द्वारा सुरु गरिएको हो। योजनाको बजेट कर्णाली प्रदेश सरकारले विनियोजन गरेको छ भने योजना निर्माणमा विशेष भूमिका निर्वाह गर्नेमा कर्णाली प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक मा. हिक्मत बहादुर बिष्ट, नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र बहादुर बिष्ट, उपाध्यक्ष कमल कुमार शाह, प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल, वडा अध्यक्ष तथा सम्पूर्ण जनप्रतिनिधिहरू, सबै राजनीतिक दलका प्रतिनिधिहरू तथा अछाम जिल्लाका सरोकारवालाहरूलाई धन्यवाद व्यक्त गरिएको छ।
वडा नं ९ का अध्यक्ष प्रदीप बोहोराका अनुसार, यो सडक कालिकोटको नरहरिनाथ गाउँपालिका, अछामको पञ्चदेवल बिनायक नगरपालिका ०९ र रामारोशन गाउँपालिकासँग जोडिने महत्वपूर्ण मार्ग हो।
स्थानीय नागरिकहरूले यो सडकले कर्णाली र सुदूरपश्चिम प्रदेश जोड्ने अन्तरप्रदेशीय पहुँच मार्ग बन्ने मात्र नभई प्रमुख पर्यटकीय सडकका रूपमा समेत विकास हुने विश्वास लिएका छन्।


