बबिता बिष्ट ।
नेपाल सांस्कृतिक विविधता, परम्परा र आस्थाले भरिएको देश हो। यहाँ प्रत्येक पर्व र चाडको आफ्नै सामाजिक र सांस्कृतिक महत्व छ। तीमध्ये हरितालिका तिज विशेष गरी हिन्दु नारीहरूको लागि अद्वितीय पर्व मानिन्छ।

श्रावण शुक्ल पक्षको तृतीयादेखि सुरु हुने तिज केवल धार्मिक अनुष्ठान मात्र होइन। यो नारीको आस्था, संस्कार, धैर्य र आत्मबलको प्रतीक हो। यसको नाममा नै कथा लुकेको छ । ‘हरित’ अर्थात अपहरण र ‘आलिका’ अर्थात साथी। देवी पार्वतीले आफ्ना साथीहरूको सहयोगमा पिताको घरबाट जङ्गलमा गएर भगवान् शिवलाई पतिको रूपमा प्राप्त गर्ने कठोर तपस्या गरिन्। उनको अटल विश्वास र धैर्यले अन्ततः शिवजीलाई प्रभावित पार्‍यो। यही स्मरणमा महिलाहरूले आफ्नो वर पाउने कामनाका साथ व्रत बस्ने परम्परा सुरु भएको हो।

तिजको दिन महिलाहरू बिहानै स्नान गरी शुद्ध पोसाक धारण गर्छन्। रातो र हरियो रङको विशेष महत्व छ। जसले मङ्गलमयता र समृद्धिको प्रतीक जनाउँछ। दिनभर निराहार व्रत बस्ने, शिव पार्वतीको पूजा गर्ने र बेलुकी कथा सुन्ने चलन छ। कतिपय ठाउँमा मध्यरातसम्म गीत–नृत्य पनि हुन्छ। जसले तिजलाई विशेष बनाउँछ।

आजकाल तिज केवल धार्मिक आस्था सीमित छैन। यसले नारीहरूलाई भेटघाट, दुःख-सुख बाँड्ने र सामाजिक सन्देश दिने अवसर प्रदान गर्दछ। तिजका गीतमा परम्परागत स्वर मात्र नभई महिला अधिकार, समाजको वास्तविकता र समसामयिक राजनीतिक विषय पनि व्यक्त हुन्छन्। यसरी, तिज नारीहरूको भावनात्मक स्वतन्त्रता र सशक्तीकरणको माध्यम बनेको छ।

यद्यपि पछिल्ला केही वर्षमा महँगा गहना, भड्किलो भोज र विलासी प्रदर्शनले पर्वको मौलिकता ओझेलमा पार्ने खतरा देखा परेको छ। परम्परागत स्वरूपलाई जोगाउँदै आधुनिक सन्देशलाई आत्मसात् गर्नु आजको आवश्यकता हो।

हरितालिका तिज नेपाली नारीहरूको आस्था, संस्कार र शक्तिको मूर्त प्रतीक हो। यो केवल पूजा मात्र होइन, संस्कृतिको संरक्षण, नारी पहिचानको उजागर र सामाजिक एकताको सन्देश दिने पर्व हो। युग अनुसार यसको स्वरूप बदलिँदै गए पनि यसको मूल आत्मा सधैँ जीवित रहिरहनेछ।

सबैलाई हरितालिका तिजको शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS