कमल बिष्ट ।
१५ असार २०८२, कालिकोट ।
नरहरिनाथ गाउँपालिका भित्रका मुख्य सडकहरूमा वर्षाको कारण हिलाम्मे र अवरुद्ध हुने अवस्था सिर्जना भएपछि गाउँपालिकाले सडक मर्मत कार्य सुरु गरेको छ। लगातारको वर्षाले सडकमा ठाउँ–ठाउँमा खाल्डाखुल्डी बनेर यातायात आवागमनमा समस्या उत्पन्न भएपछि स्थानीयवासीहरूको मागअनुसार हिजोबाट पहिलो चरणको मर्मत कार्य सुरु गरिएको हो।
गाउँपालिकाका अनुसार पहिलो चरणको काम वडा नं ०९ को कार्यालय रानिखेतबाट सुरु भई वडा नं ०८ को कार्यालय मुलपानी हुँदै तल्कोट, माल्कोट भएर कुमालगाउँसम्म विस्तार हुँदैछ। त्यस्तै कुमालगाउँदेखि लालिघाटसम्मको सडक खण्डमा पनि प्राथमिक रूपमा मर्मत कार्य सञ्चालन गरिनेछ।

सडक मर्मत कार्यमा खाल्डाखुल्डी पुर्याउने, असजिलो भाग सम्याउने तथा सामान्यतया पानी निकासको व्यवस्था मिलाउने काम भइरहेको छ। यसले गर्दा दैनिक यात्रु, विद्यार्थी, बिरामी बोक्ने एम्बुलेन्स तथा स्थानीय यातायात सहज हुने अपेक्षा गरिएको छ।
गाउँपालिकाले दोस्रो चरणको मर्मत कार्य दशैँ अगावै सम्पन्न गर्ने लक्ष्य लिएको छ। यस अन्तर्गत मुख्य सडक खण्डमा नाला खन्ने, केही ठाउँमा सडक चौडा पार्ने, पानी पास गर्ने संरचना निर्माण गर्ने जस्ता काम गरिने जनाइएको छ। यसका लागि आवश्यक मेसिन, जनशक्ति र सामग्रीहरूको तयारी भइरहेको गाउँपालिका स्रोतले जानकारी दिएको छ।
गाउँपालिका अध्यक्ष तथा पदाधिकारीहरूले सडक मर्मतलाई प्रभावकारी बनाउन सबै स्थानीयवासीको सहयोग अपरिहार्य रहेको बताएका छन्। विशेषगरी पानी पास गर्नुपर्ने ठाउँमा पाइप हाल्न, सडक साँघुरो भएका ठाउँमा जग्गा उपलब्ध गराउन तथा काममा अवरोध नहुने गरी सहयोग गर्न आग्रह गरिएको छ।
“सडक हाम्रो साझा सम्पत्ति हो, यसलाई सबल बनाउन सबैको भूमिका हुन्छ,” गाउँपालिकाका पदाधिकारीहरूले बताएका छन्, “यस मर्मतपछि दशैंतिहारताका यात्रु र स्थानीयवासीलाई सहजता हुने हाम्रो अपेक्षा छ।”
स्थानीयवासीहरूले लामो समयदेखि बिग्रिएका सडकका कारण दैनिक जीवनमा समस्या भोग्दै आएका थिए। विशेषगरी बर्खायाममा हिलाम्मे सडकले विद्यार्थीलाई विद्यालय आवतजावत गर्न, किसानलाई कृषि उत्पादन बजारसम्म लैजान, बिरामीलाई अस्पताल पुर्याउन कठिनाइ हुँदै आएको थियो।
यसपटक गाउँपालिकाले थालेको मर्मत कार्यले स्थानीयवासीलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।


