कमल बिष्ट ।
२० असोज २०८२, कालिकोट ।
जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं ५ रुप्सा चिसापानीमा निर्माण सम्पन्न भएको नवनिर्मित झुलुङ्गे पुलको सोमबार एक भव्य समारोहका बीच उद्घाटन गरिएको छ। उक्त पुलको उद्घाटन नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्टले गर्नुभएको हो।
पुल उद्घाटन कार्यक्रममा नरहरिनाथ गाउँपालिका वडा नं ३ का अध्यक्ष कटक बहादुर बुढा, वडा नं ५ का अध्यक्ष जिबन बोगटी, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मान बहादुर सहकारी, इन्जिनियर कमल बहादुर सहकारी, अमिन मनिस बोगटी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, वडा नं ५ का स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समारोहमा बोल्दै वडा नं ५ का अध्यक्ष जिबन बोगटीले पुल निर्माणले गाउँका बासिन्दाको दैनिक जीवनमा ठूलो सहजता ल्याउने विश्वास व्यक्त गर्दै पुल निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो। वडा नं ३ का अध्यक्ष कटक बहादुर बुढाले दुई वडाबीचको सम्पर्क र आपसी सम्बन्ध अझ प्रगाढ बन्ने अपेक्षा व्यक्त गरे।
त्यस्तै,गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्टले गाउँका दुर्गम बस्तीमा आवागमन सहज बनाउन पुल र सडकजस्ता पूर्वाधार अत्यावश्यक भएको बताउँदै, गाउँपालिकाले विकासका योजनाहरूलाई प्राथमिकताका साथ अघि बढाइरहेको उल्लेख गर्नुभयो। उहाँले स्थानीय बासिन्दाको सक्रिय सहयोग र एकताको कारण गाउँ विकासका कामहरू सफलतापूर्वक सम्पन्न भइरहेका बताए।
स्थानीय बासिन्दाहरूले पनि लामो समयदेखि प्रतीक्षा गरिएको झुलुङ्गे पुल पूरा भएपछि आफ्नो बस्तीमा आवतजावत सहज भएको, विद्यालय जाने विद्यार्थी, बिरामी बोकेर अस्पताल पुर्याउने कामदेखि लिएर दैनिक जीवनका कामहरूमा ठूलो राहत पुगेको बताएका छन्।
सो अवसरमा सहभागीहरूले पुलको सुरक्षाको जिम्मेवारी स्थानीय समुदायले लिनुपर्ने, सरसफाइ र संरक्षणमा सबैको भूमिका जरुरी रहेको सुझाव दिएका थिए।
उक्त झुलिङे पुल निर्माण भएपछि चिसापानी क्षेत्रका बासिन्दा, किसान, विद्यार्थी र व्यवसायी सबै लाभान्वित हुने र यसले स्थानीय आर्थिक गतिविधिमा पनि सघाउने अपेक्षा गरिएको छ।
नरहरिनाथ गाउँपालिकाले विकासका कामहरूलाई निरन्तरता दिँदै प्रत्येक वडामा आवश्यक पूर्वाधार निर्माण, खानेपानी, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवामा सुधार गर्ने योजना अघि बढाइरहेको जनाएको छ।


