कमल बिष्ट ।
१८ फागुन २०८२, कालिकोट ।
नरहरिनाथ गाउँपालिकामा ग्रामीण पूर्ण राष्ट्रिय लाईन विद्युतिकरण कार्यक्रम अन्तर्गत विद्युत विस्तारको कामले गति लिएको छ। विद्युतिकरणको ठेक्का लिएको टुण्डि कन्स्ट्रक्सन प्रा.लि. ले निरन्तर समन्वय, सहजीकरण तथा दबाबपछि आजदेखि कोहलपुर–कालिकोट खुलालु सडक खण्ड हुँदै विद्युतका पोल ढुवानी सुरु गरेको छ।
यस योजनाअन्तर्गत नरहरिनाथ गाउँपालिका वडा नं. ८ र ९ (लालु), वडा नं. १, २ र ३ (कोटबाडा तथा कुमालगाउँ) र वडा नं. ५ (रुप्सा) का विद्युत नपुगेका सबै टोल–बस्तीमा विद्युत विस्तार गरिनेछ। सम्बन्धित स्थानसम्म पोल ढुवानी, पोल गाड्ने र लाइन विस्तार गरी बस्तीलाई उज्यालो बनाउने लक्ष्य लिइएको छ।

योजनाअनुसार आउँदो वैशाख महिनाभित्र विद्युत बाल्ने गरी काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ। कुनै पनि बस्ती नछुट्ने गरी विद्युत विस्तार गरिने भएकाले वडा नं. १, २, ३, ५, ८ र ९ का स्थानीय बासिन्दालाई आवश्यक सहजीकरण र समन्वयका लागि आ–आफ्ना वडा अध्यक्षहरूसँग सम्पर्क गर्न अनुरोध गरिएको छ।
यसअघि नै वडा नं. ४ (रुप्सा), वडा नं. ६ र ७ (माल्कोट) मा वाइबा कन्स्ट्रक्सन प्रा.लि. मार्फत विद्युत विस्तारको काम भइरहेको छ। सम्बन्धित सबै स्थानमा विद्युतका पोल मजबुत रूपमा गाड्ने, कुनै बस्ती नछुटाउने र गुणस्तरीय काममा ध्यान दिई समयमै काम सम्पन्न गर्न सबै सरोकारवालाको सहयोग आवश्यक रहेको नरहरिनाथ गाउँपालिकाका प्रवक्ता एबम् वडा नं ९ का वडा अध्यक्ष प्रदिप बोहराले जानकारी दिएका छन।


