कमल कोपिला ।
२० पुस २०८२, कालिकोट ।
कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकामा सर्वदलीय बैठक आइतबार सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष नगेन्द्र बहादुर बिष्टको अध्यक्षतामा सम्पन्न बैठकमा उपाध्यक्ष कमल कुमार शाह, सम्पूर्ण वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बैठकमा नेपाली कांग्रेसका तर्फबाट सभापति राम बहादुर बटाला, नेपाल कम्युनिस्ट पार्टीका नेता अग्र बहादुर बिष्ट (क. सुनिल), हर्क बुढा, नेकपा एमालेका नेताहरू सुनिता बुढा र टक्क बिष्ट, राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता बिरेन्द्र बोगटी, साथै नेकपा माओवादी केन्द्रका नेताहरू लगायतको उपस्थिति रहेको थियो।

बैठकमा गाउँपालिकामा बाँकी रहेका विकास निर्माणका कार्य, बचत रहेको रकमको रकमान्तर, तथा समसामयिक विषयहरूमा विस्तृत छलफल गरिएको थियो। विशेषगरी गाउँपालिकालाई पूर्ण विद्युतीकरण गर्ने विषय, लामो समयदेखि ठप्प रहेको एम्बुलेन्स सेवा सञ्चालन, रेडियो व्यवस्थापन, सडक मर्मत तथा निर्माण, पालिका तथा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको पूर्वतयारी, विमानस्थलको नियमित सञ्चालन, मदिरा तथा लागूपदार्थ नियन्त्रण लगायतका विषयहरू छलफलको केन्द्रमा रहेका थिए।
छलफलका क्रममा नेपाली कांग्रेसका सभापति राम बहादुर बटालाले खेलकुद क्षेत्रमा नरहरिनाथ गाउँपालिकाले उल्लेखनीय प्रगति गरेको उल्लेख गर्दै आगामी प्रतियोगिताका लागि प्रभावकारी तयारी गर्नुपर्नेमा जोड दिए। बिप्लव निकट नेकपा माओवादीका एक नेताले विद्युतीकरणका क्रममा देखिन सक्ने सुरक्षा चुनौतीप्रति विशेष ध्यान दिन आग्रह गरे।
त्यस्तै, नेकपा नेता अग्र बहादुर बिष्ट (क. सुनिल) ले सडक तथा सञ्चार सेवाको अविलम्ब व्यवस्थापन र मर्मतको आवश्यकता औंल्याए। नेकपाकै अर्का नेता हर्क बुढाले मदिरा नियन्त्रणका लागि प्रभावकारी पहल गर्न आग्रह गर्दै स्वास्थ्य सेवा, जडीबुटी उत्खनन तथा संकलन, र उद्योग सञ्चालनका विषयमा गहिरो चिन्ता र चासो व्यक्त गरे।
नेकपा एमालेका नेताद्वय टक्क बिष्ट र सुनिता बुढाले विश्वकुना गोरेटो बाटोको पुनर्निर्माण गर्नुपर्ने, बिग्रिएका मठ–मन्दिरहरूको संरक्षण तथा निर्माणमा ध्यान दिनुपर्ने र सबै विकास निर्माणका कार्य पारदर्शी ढंगले अघि बढाउन आग्रह गरे। त्यस्तै रास्वपा नेता बिरेन्द्र बोगटीले सवारी साधनको भाडादर निर्धारणका लागि पहल गर्न माग गरे।
बैठकलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष नगेन्द्र बहादुर बिष्टले अनियन्त्रित रूपमा भइरहेको बालुवा उत्खननको नियन्त्रण तथा नियमनका लागि आवश्यक पहल गरिएको र थप प्रभावकारी बनाइने बताए। उनले खुलालु–नरहरिनाथ गाउँपालिका जोड्ने मुख्य सडकको डिपिआर अन्तिम चरणमा पुगेको, आवश्यक स्थानमा विस्फोटक पदार्थ प्रयोगका लागि पुनः सम्झौता भइसकेको तथा विद्युतीकरणका लागि पोल विस्तारको काम अघि बढिसकेको जानकारी दिए।
अध्यक्ष बिष्टले सिफारिसका क्रममा राजस्व वृद्धि आर्थिक ऐनअनुसार गरिएको स्पष्ट पार्दै उद्योग सञ्चालनमा उत्पादनका लागि तत्परता नदेखिएको बताए। साथै एम्बुलेन्स सेवालाई सशक्त रूपमा सञ्चालन गर्न पहल भइरहेको र छिट्टै सेवा सुरु हुने विश्वास व्यक्त गरे। मदिरा नियन्त्रणका लागि यसअघि नै पहल गरिएको र आगामी दिनमा अझ प्रभावकारी बनाइने, यस विषयमा गाउँसभामा थप छलफल गरिने उनले बताए।
उनले किसानदेखि सबै वर्गका विषय समेटेर गाउँपालिकाले एउटा पुस्तक प्रकाशन गर्ने तयारी भइरहेको, सवारी भाडादर निर्धारण जिल्ला प्रशासन कार्यालयको अधिकार क्षेत्रभित्र पर्ने भएकाले प्रतिकिलोमिटर २२ रुपैयाँ कायम गर्न निर्णयसहित पत्राचार गरिएको जानकारी दिए।
अध्यक्ष बिष्टले आगामी दिनमा राजनीतिक दलहरूलाई अभिभावकका रूपमा लिँदै सुझाव र सल्लाहअनुसार काम गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।


