कमल कोपिला
२४ पुस २०८२ कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकाको १८औँ हिउँदे गाउँ सभा बुधबार वडा नं. ९ स्थित वडा कार्यालय रानिखेत लालु मा सम्पन्न भएको छ।

२०७९ सालमा निर्वाचित जनप्रतिनिधिले गरेको पहिलो निर्णय अनुसार स्थानीय सरकारको सदन सञ्चालन प्रक्रियालाई नागरिकमा प्रत्यक्ष अनुभूति गराउने तथा नागरिकका गुनासा, सुझाव र अपेक्षा सिधै स्थानीय सरकारसम्म पुर्‍याउने उद्देश्यले गाउँपालिकाले घुम्ती गाउँ सभा सञ्चालन गर्दै आएको अध्यक्ष नगेन्द्र बहादुर बिस्टले बताए। साविक ५ वटा गाबिसमा संचालन गर्दै आएको थियो । कोटवाडादेखी संचालन गरेको गाउँ सभा यो वर्षको लालु मा सम्पन्न भएको हो ।

गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिस्टको अध्यक्षतामा सम्पन्न सभामा उपाध्यक्ष कमल कुमार शाह, सम्पूर्ण कार्यपालिका सदस्यहरू, शिक्षक, बुद्धिजीवी, स्थानीय नागरिक, कर्मचारी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। सभाको औपचारिक सञ्चालन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं सभा सचिव बालकृष्ण रानामगरले गर्नुभएको थियो।

सभामा नरहरिनाथ गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को श्रावणदेखि हालसम्मको पहिलो ६ महिनामा सम्पन्न भएका कामहरूको वित्तीय तथा भौतिक प्रगति विवरण प्रस्तुत गरेको थियो। विवरण अनुसार चालु आर्थिक वर्षमा गाउँपालिकाका लागि जम्मा ५१ करोड ७७ लाख ९५ हजार १०१ रुपैयाँ बजेट विनियोजन गरिएकोमा हालसम्म १० करोड २२ लाख ४२ हजार ७५ रुपैयाँ खर्च भएको छ।

कुल खर्चमध्ये पूँजीगत तर्फ १ करोड २८ लाख ४८ हजार ७१ रुपैयाँ र चालु तर्फ ८ करोड ९३ लाख ९४ हजार ४ रुपैयाँ खर्च भएको छ। यसअनुसार पूँजीगत खर्च ९.९२ प्रतिशत, चालु खर्च २३.०२ प्रतिशत र कुल खर्च १९.७४ प्रतिशत रहेको गाउँपालिकाले जनाएको छ।

भौतिक प्रगतितर्फ लालिघाटदेखि गाउँपालिका केन्द्रसम्मको सडक विस्तार तथा कालोपत्रे कार्यका लागि विश्व बैंकसँग साझेदारी गर्ने प्रक्रिया अगाडि बढाइएको छ। साथै लालिघाट–गाउँपालिका केन्द्र, खुलालु–वडा नं. ८ हुँदै वडा नं. ९, विश्वकुना–लामाराइटा हुँदै धाँचु तथा विश्वकुना–सेरापाटा सडक स्तरोन्नति गरी सञ्चालनमा ल्याइएको छ।

गाउँपालिका अन्तर्गत वडा नं. १ देखि ९ सम्म राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तारका लागि नेपाल विद्युत् प्राधिकरणसँग निरन्तर समन्वय भइरहेको र विद्युत् विस्तारको काम तीव्र गतिमा अघि बढिरहेको जानकारी दिइयो। यसैगरी नरहरिनाथ गाउँपालिका भित्र पर्ने सुथराली विमानस्थल सञ्चालनका लागि प्रदेश तथा संघीय सरकारसँग निरन्तर पहल भइरहेको छ।

हाल गाउँपालिकाको प्रशासकीय भवनमार्फत दैनिक प्रशासनिक सेवा प्रवाह भइरहेको छ भने वडा नं. १, ३, ६, ८ र ९ गरी पाँच वटा वडा कार्यालयबाट आफ्नै भवनबाट सेवा प्रदान भइरहेको छ। शिक्षाको गुणस्तर सुधारका लागि शिक्षकहरूलाई ReAL Plan सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ भने सबै सामुदायिक विद्यालयलाई एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली सम्बन्धी अभिमुखीकरण गराई विवरण एकिन गर्ने कार्य पूरा गरिएको छ।

उपाध्यक्षसँग कृषि कार्यक्रम अन्तर्गत गोठालो भत्ता वितरण कार्यक्रम अन्तिम चरणमा पुगेको छ। पशु सेवा शाखा तथा सेवा इकाइबाट हालसम्म सबै वडामा २९५ पशुपंक्षीको उपचार गरिएको छ। महिला विकास शाखामार्फत छोरी सुरक्षा कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा ६७ जना थप भई जम्मा १,२९१ जना छोरीको खाता सञ्चालनमा आएको छ।

त्यसैगरी महिला विकास शाखामार्फत चालु आवमा १३ जनासहित हालसम्म ४३१ जना अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ। खेलकुद क्षेत्रको विकासका लागि १० वटै माध्यमिक विद्यालयमा खेलकुद प्रशिक्षक नियुक्त गरिएको छ।
स्वास्थ्य क्षेत्रतर्फ सबै वडामा बृहत् पोषण स्क्रिनिङ कार्यक्रम सञ्चालन भई १,०२३ बालबालिका लाभान्वित भएका छन्। ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रममार्फत १७२ गर्भवती महिलाले निःशुल्क जाँच गराएका छन् भने समस्या देखिएका १७ जनालाई सम्बन्धित स्वास्थ्य संस्थामा रेफर गरिएको छ। यसबाट हालसम्म मातृ मृत्युदर शून्य कायम राख्न सफल भएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका केन्द्रदेखि रुप्सा वडा नं. ४ र ५ जोड्ने सडकअन्तर्गत सैनेखोलाको कडा चट्टानी भागमा निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। साथै रुप्सा भेरे खोला–गोठी सडक निर्माणका लागि ६ करोड रुपैयाँको ठेक्का प्रक्रिया सम्पन्न भई निर्माण कार्य सुरु भएको छ।
वडा नं. ९ स्थित छेपाडे खर्कदेखि अन्तरप्रदेशीय पर्यटकीय सडक, माल्कोट सिमलटडा–गाउँपालिका केन्द्र सडक तथा धाँच–बुद्ली सडक निर्माण कार्य सम्झौता भई विभिन्न चरणमा सञ्चालनमा रहेका छन्। आगामी दिनमा विकास निर्माण र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै नागरिकमैत्री स्थानीय सरकार निर्माणमा नरहरिनाथ गाउँपालिका प्रतिबद्ध रहेको गाउँ सभामा जानकारी गराइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS