कमल कोपिला
४ माघ २०८२ कालिकोट । जिल्लाबाट प्रतिनिधि सभाका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) तर्फको उम्मेदवार छनोट पेचिलो बन्दै गएको छ।
यसअघि पटक-पटक उम्मेदवार बनेका महेन्द्र बहादुर शाहीले पुनः उम्मेदवारीको आकांक्षा व्यक्त गरेसँगै अर्का दावेदार जीवन बुढाले जनआकांक्षा, जनभावना र कार्यकर्ताको व्यापक समर्थनको आधारमा आफ्नो दाबी प्रस्तुत गरेपछि पार्टी नेतृत्व र संगठनलाई टुंगो लगाउन सकस परेको हो।

पार्टी स्रोतका अनुसार, महेन्द्र बहादुर शाही आफ्नो अघिल्लो कार्यकाल पूरा नभएको भन्दै अधुरो जिम्मेवारी पूरा गर्न पुनः मैदानमा उत्रन चाहिरहेका छन्। अर्कोतर्फ जीवन बुढा भने जनताको स्पष्ट माग, हस्तान्तरण-पुस्तान्तरण,पार्टी जिल्लामा देखिएको कार्यकर्ताको उल्लेख्य समर्थन, जनअभिमत र पछिल्लो ‘जेन्जी मुभमेन्ट’ को मर्मअनुसार,आफू उपयुक्त उम्मेदवार भएको दाबी गरिरहेका छन्।
उम्मेदवार चयनको बहस चुलिँदै जाँदा महेन्द्र बहादुर शाहीलाई पुनः नदोहोर्याउनुपर्ने सुझाव पार्टीभित्र र बाहिर दुवै तहबाट व्यापक रूपमा उठ्न थालेको छ। कार्यकर्ता, बुद्धिजीवी, नेतृत्वदेखि आम जनतासम्मबाट ‘अब दोहोरिनु हुँदैन’ भन्ने साझा सल्लाह आउन थालेपछि नेकपाभित्र परिवर्तनको स्वर थप बुलन्द बनेको छ।
पार्टी स्रोतका अनुसार, विगतका अभ्यासभन्दा फरक निर्णय गर्नुपर्ने दबाब नेतृत्वमाथि बढ्दो छ। जनअपेक्षा, जनभावना र नयाँ पुस्ताको चाहनालाई सम्बोधन गर्ने उम्मेदवार आवश्यक रहेको निष्कर्षतर्फ पार्टी छलफल अघि बढिरहेको बताइन्छ।
नेकपाका नेता डम्मर शाही ‘डिबि’ का अनुसार भने, उम्मेदवारबारे अन्तिम निर्णय भोलिमात्र हुने भएको छ। पार्टीले सोमबार जिल्ला कमिटीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने सूचना सार्वजनिक गरिसकेको छ। सोही कार्यक्रमबाट कालिकोटको प्रतिनिधि सभा उम्मेदवारबारे अन्तिम टुंगो लाग्ने अपेक्षा गरिएको छ।
पार्टीभित्र महेन्द्र बहादुर शाही यस अघि पटक पटक मौका पाएका नेता हुन भने जीवन बुढा जनताबाट परिक्षण नभएका तर प्रशोधित नेता हुन । पार्टीभित्र प्रतिनिधि सभाका लागि पुरानो नेतृत्व र नयाँको यो प्रतिस्पर्धालाई कालिकोटको राजनीतिक दिशानिर्देशसँग जोडेर हेरिएको छ। निर्णय जेसुकै भए पनि यसले नेकपाभित्रको आन्तरिक शक्ति सन्तुलन र आगामी निर्वाचनको राजनीतिक सन्देश स्पष्ट पार्ने देखिन्छ ।


