कमल कोपिला
१२ माघ २०८२ कालिकोट । जिल्लाको तिलागुफा नगरपालिका वडा नं ६ जुबिथाकी ९ वर्षीया प्रतिभाशाली बाल नृत्यांगना स्पृका शाहीले नेपालकै प्रतिष्ठित डान्स रियालिटी शो Nation’s Got Talent Season-2 मा ऐतिहासिक सफलता नजिक पुर्याएकी छन्।
क्षेत्रीय सेलेक्सन हुँदै अडिसन राउन्ड पार गर्दै हजारौं प्रतिस्पर्धीलाई पछि पारेर टप १८०, टप ८०, टप ४० र टप २३ सम्म जजहरूको मूल्यांकनबाट छनोट हुँदै उनी हाल दर्शकको माया र भोटिङको बलमा टप ११ मा आफ्नो स्थान सुरक्षित गर्न सफल भएकी छन्।

यसअघि पनि स्पृकाले भक्तपुर प्याब्सन अन्तर्गत जिल्लाभरिका ८१ विद्यालयबीचको अन्तरविद्यालय प्रतिस्पर्धामा सेकेन्ड रनरअप, भक्तपुर नगरकोट भ्रमण वर्ष २०८२ अन्तर्गत आयोजित Rising Dance जिल्ला स्तरीय खुला प्रतियोगितामा फस्ट रनरअप हुँदै नगद ५० हजार रुपैयाँ र विद्यालयबाट पूर्ण छात्रवृत्ति, साथै भक्तपुर महोत्सव २०८१ मा प्रथम स्थान हासिल गर्दै नगद २० हजार रुपैयाँसहित थुप्रै पुरस्कार प्राप्त गरिसकेकी छन्।
पढाइमा पनि सधैं कक्षामा प्रथम वा दोस्रो हुने स्पृकाको लक्ष्य आगामी २–३ वर्षपछि भारतको Little Dance Championship मा सहभागिता जनाउने रहेको छ।
देउडा र लोकदोहोरीको हबका रूपमा चिनिने कालिकोटलाई अब नृत्यमार्फत पनि चिनाउने उद्देश्यका साथ अघि बढेकी स्पृकालाई जिताउन नेपालभित्र QR कोडमार्फत NIC Asia र Nabil Bank को मोबाइल बैंकिङ वा eSewa मा गई Nation’s Got Talent अन्तर्गत Sprika Shahi (Kalikot) मा क्लिक गरेर तथा विदेशबाट Avantoz एपमार्फत भोट गर्न सकिने व्यवस्था रहेको छ।
सो अवसरमा स्पृकाका बुवा तपेन्द्र शाहीले देश तथा विदेशमा रहनु भएका सम्पूर्ण कर्णाली तथा कालिकोटवासीलाई भोटिङमार्फत सहयोग गरिदिन अपिल समेत गर्नुभएको छ।


