कमल कोपिला
१४ माघ २०८२ कालिकोट । जिल्लाको नरहिनाथ गाउँपालिका वडा नं. ३ खोलिखेतकी शारदा बुढा आज ग्रामीण महिला उद्यमशीलताको एउटा सशक्त उदाहरण बनेकी छन्। सीमित जमिन, सीमित स्रोत र चुनौतीपूर्ण भौगोलिक अवस्थाका बाबजुद उनले मौसमी तथा बेमौसमी तरकारी खेतीमार्फत आफू मात्र होइन, सम्पूर्ण परिवारलाई आत्मनिर्भर बनाउन सफल भएकी छन्। आईएनएफ नेपाल कालिकोट शाखाको निरन्तर सहयोग, तालिम र प्रविधिको सहायताले शारदाको जीवनमा उल्लेखनीय परिवर्तन आएको छ।

२६ वर्षीया शारदा बुढाको परिवारमा सासु, ससुरा, श्रीमान्, एक छोरा र एक छोरी गरी ६ जना सदस्य छन्। परिवारको दैनिक खर्च, बालबालिकाको शिक्षा र घरधन्दाको जिम्मेवारी सम्हाल्दै आएकी शारदाका लागि पहिले आर्थिक अवस्था निकै कमजोर थियो। सामान्य खर्चका लागि पनि आफन्तसँग सापटी लिनुपर्ने अवस्था थियो। तर आज उनी आफ्नै मेहनतले वार्षिक डेढ लाखदेखि दुई लाख रुपैयाँसम्म आम्दानी गर्दै परिवारको आर्थिक मेरुदण्ड बनेकी छन्।

घर वरिपरि रहेको थोरै जमिनलाई अवसरका रूपमा लिँदै शारदाले तरकारी खेती सुरु गरेकी हुन्। सुरुवातमा करेसाबारी स्तरमा गरिएको खेतीबाट बचेको तरकारी बिक्री गर्दै आएको उनको यात्रा अहिले व्यावसायिक मौसमी तथा बेमौसमी तरकारी उत्पादनसम्म पुगेको छ। सीमित जमिन भए पनि निरन्तर मेहनत, सीप र प्रविधिको प्रयोगले राम्रो आम्दानी लिन सकिन्छ भन्ने उदाहरण उनले प्रस्तुत गरेकी छन्।

नरहिनाथ गाउँपालिकामा आईएनएफ नेपाल कालिकोट शाखाले करिब ६ वर्षदेखि खानेपानी, सरसफाइ, स्वच्छता तथा जीविकोपार्जनका क्षेत्रमा काम गर्दै आएको छ। विशेषगरी महिला, अपाङ्गता भएका व्यक्ति, गरिब तथा विपन्न समुदायलाई लक्षित गरी स्वावलम्बन समूह गठन गर्दै स्वरोजगारका विभिन्न गतिविधि सञ्चालन गरिएको छ। यसै कार्यक्रमअन्तर्गत महिला तथा किशोरीहरूको सशक्तिकरण (EWGWL) परियोजनाबाट शारदा बुढा प्रत्यक्ष रूपमा लाभान्वित भएकी हुन्।

शारदा नरहिनाथ गाउँपालिका वडा नं. ३ स्थित मष्ठा स्वावलम्बन समूहकी सदस्य हुन्। स्वावलम्बन समूहमार्फत उनलाई तरकारी खेतीसम्बन्धी आधारभूत तथा व्यवसायिक तालिम प्रदान गरिएको थियो। पछि समुदायमा दिगो विकासलाई जोड दिन ९० वटा स्वावलम्बन समूहलाई समेट्दै सुनौलो बहुउद्देश्यीय सहकारी संस्था स्थापना गरिएको छ, जहाँ शारदा लेखा सुपरिवेक्षण संयोजकको जिम्मेवारीमा रहेकी छन्। समूह र सहकारीमार्फत गरिएको यो पहलले समुदायमा आर्थिक चेतना र आत्मनिर्भरता बढाएको छ।

आईएनएफ नेपाल कालिकोट शाखाले शारदालाई तरकारी खेतीका लागि बीउ, कृषि सामग्री, थोपा सिंचाइ प्रणाली, प्लास्टिक टनेल, फलामे टनेल, ड्रम, पाइप, किरा छेक्ने जाली लगायत आवश्यक सामग्री उपलब्ध गराएको छ। साथै, पटक-पटक प्राविधिक सहयोग र अनुगमन गर्दै उनको व्यवसायलाई दिगो बनाउन सहयोग पुर्याएको छ।


तरकारीमा लाग्ने रोग, किरा नियन्त्रणका लागि शारदाले जैविक खेती अपनाएकी छन्। आईएनएफ नेपालबाट प्राप्त तालिमअनुसार उनले घरमै गाईको पिसाब र विभिन्न झारपात प्रयोग गरी जैविक विषादी बनाउने गरेकी छन्। यसका साथै Geo Krishi App मार्फत कृषि विज्ञसँग परामर्श लिँदै मौसम, बाली लगाउने उपयुक्त समय र जलवायुमैत्री खेतीसम्बन्धी जानकारी लिएर खेतीलाई अझ प्रभावकारी बनाइरहेकी छन्।

“पहिले मलाई चाहिएको बेला सानो खर्च पनि जुटाउन गाह्रो हुन्थ्यो,” शारदा भन्छिन्, “तर अहिले तरकारी खेती मेरो परिवारको मुख्य आम्दानीको स्रोत बनेको छ। घरमै बसेर परिवारलाई स्वरोजगार बनाउन सकेकी छु।” उनका अनुसार तरकारी खेतीले आर्थिक मात्र होइन, आत्मविश्वास र सामाजिक पहिचान पनि बढाएको छ।

शारदा बुढा वैदेशिक रोजगारीप्रतिको बढ्दो मोहप्रति पनि आफ्नै अनुभवबाट फरक सन्देश दिन्छिन्। “हामी प्रायः विदेश जानैपर्छ भन्ने सोच राख्छौँ,” उनी भन्छिन्, “तर आफ्नै गाउँघरमा स्थानीय स्रोतसाधन प्रयोग गरेर मेहनत गर्यौँ भने आत्मनिर्भर बन्न सकिन्छ। यसले परिवार मात्र होइन, देशको विकासमा पनि योगदान पुर्याउँछ।”
![]()
उनले आफ्नै उमेर समूहका महिला तथा युवायुवतीहरूलाई आफ्नै ठाउँमा सम्भावना खोज्न आग्रह गर्दै भन्छिन्, “सानो जमिनमै पनि राम्रो आम्दानी सम्भव छ। आफ्नै ठाउँमा परिश्रम गरौँ, स्वरोजगार बनौँ र आत्मसम्मानका साथ बाँचौँ।”

आईएनएफ नेपालको सहयोग, समूह र सहकारीको संरचना तथा शारदा बुढाको निरन्तर मेहनतले यो सफलता सम्भव भएको हो। शारदा बुढाको कथा आज कालिकोट मात्र होइन, सम्पूर्ण ग्रामीण नेपालका लागि प्रेरणाको स्रोत बनेको छ।


