कमल बिष्ट।
१४ चैत २०८२, कालिकोट।
“स्वच्छ घर, स्वस्थ परिवार – सशक्त समाजको आधार”भन्ने मूल नारासहित नरहरिनाथ गाउँपालिका वडा नं. १ देखि ४ सम्मका १७९ घरधुरीलाई सरसफाइ सामग्री वितरण गरिएको छ।
पूर्ण सरसफाइयुक्त घर निर्माणका लागि आवश्यक सूचकहरू पूरा गर्न सहयोग पुर्याउने उद्देश्यले निम्न आयस्रोत भएका परिवारहरूलाई उक्त सामग्री उपलब्ध गराइएको हो।

वितरण गरिएका सामग्रीहरूमा चर्पीमा राख्ने बाल्टिन, ब्रस, हार्पिक, फोहोर राख्ने डस्टबिन, चर्पीको प्यान, सेट तथा सिमेन्ट, साबुन राख्ने बट्टा, हात धुने स्थान निर्माणका लागि ड्रम लगायतका सरसफाइसँग सम्बन्धित सामग्रीहरू रहेका छन्।
उक्त सामग्री गाउँपालिकाका कार्यवाहक अध्यक्ष श्री कटक बहादुर बुढाबाट लाभग्राही परिवारलाई हस्तान्तरण गरिएको हो।
यस कार्यक्रमको मुख्य उद्देश्य प्रत्येक घरमा सरसफाइको अवस्था सुधार गर्नु, विशेषगरी साना बालबालिकाहरू सरसफाइको कमीका कारण असुरक्षित नहोस् र उनीहरूको प्रारम्भिक बालविकास स्वस्थ तथा सुरक्षित वातावरणमा होस् भन्ने रहेको बताइएको छ।
गाउँपालिकाले यस्ता कार्यक्रममार्फत स्वच्छता, स्वास्थ्य र बालमैत्री वातावरण निर्माणमा टेवा पुग्ने विश्वास लिएको छ।


