प्रेम विश्वासले भरिएको एउटा सुन्दर प्रकृतिको उपहार हो। जसले नत रङ, नत रुप न धर्म नै ल्याएर आएको हुन्छ। ल्याउँछ त केवल स्पर्श ! हो त्यही स्पर्शको गहिराइ नै प्रेम हो। हर कोही प्रेम जान्न चाहन्छन, बुझ्न चाहन्छन र त्यो बिषयमा अन्जान नै हुन्छन। प्रेम केहो? भनी लागेको प्रश्नवाचक चिन्हमा मैले पनि त पुर्णविराम दिन नखोजेको कहाँ होर ? म चाहान्छु अध्याँरो साँझले जसरी उज्यालो बिहानी प्राप्त गरे लगतै पुर्णबिराम लाग्छ, हो त्यस्तै होस प्रेममा पनि ! जसरी स्पर्शको लम्बाइले भावना रुपि नापको माध्यमबाट प्रेमको उत्तरले पुर्णबिराम पाओस् । बिश्वासरुपी स्केलको माध्यमबाट प्रेमको उत्तरले पुर्णबिराम पाओस् । नजरियाका आँखी झ्यालबाट प्रेमको उत्तरले पुर्णबिराम पाओस् । पाउनकै लागि खडा भएको त्यो प्रश्नवाचक चिन्हले पुर्णबिराम पाओस्, यो अपेक्षाको घडी निरन्तर घुमिरहने छ अन्तरहृदयको कुना-कुनामा !

प्रेम त्यस्तो अविभाज्य पनि कहाँ होर ? प्रेम त्यस्तो हुन्छ ! जुन हावाका फोका र बादलको वुदजस्तै महसुस गर्न सकिन्छ । जसको खोजिकै लागि भएपनि दुनियाँ तम्सिएको हुन्छ। जसको खोजीमै तमाम भौतिक शरीरहरु नामेट भएका इतिहास साँची छन् । जसको खोजीमै आँखा भित्रको तरलपदार्थको खानी रितिएको हुन्छ । जसको अभावमा कयौँ दवाब झेल्नुपर्छ । जो अमुल्य हुने गर्दछ त्यो सित्तिमित्ती कहाँ पाइन्छन् र ? जो कहिल्यै देखिदैन। मात्र महसुस गर्न सकिन्छ ! जसको खोजिमा कयौँ यात्री यात्रामै विचलित भएका छन भने कयौँ यात्री यात्रामै थकित भएका छन । कयौंको भिडमा सादु-सन्त भएका छन् ! धेरैले आफ्नो जीवन सजिव र निर्जीवको रुप धारण गरे, नपत्याए सुधार क्षेत्र र झ्यालखाना उदाहरण छन् ! यस्तै यस्तै यात्रामा बेतित भनौं वा बियोग ! कसैलाई पिडाका बाढीले बगाउछ भने कसैलाई अपुग मिहिनेतको हिउँ परि यात्रामै बज्रपात पार्दछ। कोहि दुखको झरी भित्र थकित हुन्छन् भने कोहि बिजुलीको बिस्मात संगै विलीन हुन्छन् । त्यसैले प्रेम सजिलै संग प्राप्त गर्न सकिने चिज होइन । प्रेम त्यस्तो चिज हो जसको बारे …..जति बर्णनगर्दा पनि अझ अपुग नै हुन्छ।

मैले, अनुपम र चोखो प्रेम पनि त कहाँ नगरेकी हुँ र ! त्यहीँ प्रेम भेटाउनकै लागि आखिर अनवरत बग्ने नदि झैँ, म पनि रफ्तारमा नबगेको कहाँ होर ? लाखौँ ताराहरु बीच चाँदले पनि त्यो निर्मम प्रेम पाएको हुँदैन, त्यो तिमिलाइ सिकाईरहनु पर्छ र ? जसरी रातको चाँदनी एक्लो एक्लो हुन्छ, त्यस्तै म पनि यो दुनियाँको भिडमा बिलकुल एक्लो महसुस गर्न थालेकी छु ! आखिर त्यही प्रेम पाउनको निम्ति सयौँ रातहरु चाँदले बिताए जस्तै मैले पनि बिताएकी छु! एक्लै…..अनि एक्लै ! सायद म त्यही प्रेम कै निम्ति जन्मिएकी हुँदिहु ! जो नभेटिएको पात्र ! पात्र भित्रकि प्रेमिका म ! प्रेमको खोजी यात्रामा कोही इनामको व्यवस्था हुँदो होत, सायद त्यो नभेटिएको प्रेमको खोजी यात्राको इनाम मेरै पोल्ठोमा पर्ने थियो । जसलाई भेटाउनकै लागि खर्चिएका कयौँ अनिंदा रात, खाए पनि नखाए झै देखिने त्यो भोको पेट, नाङगा मायाका विरह, निन्याउरो हृदय , सुनसान रातको बिणाको मधमस्त धुन, मुर्ति जस्तो मलिन अनुहार, वर्षात झैँ अबिरल झर्ने आखाका बलिन्धारा आसुँ, बस् कसैको प्रतीक्षामा बसेको आभास! खै कसरी बयान गरुँ ती दिन जुन दिन नभेटिएको प्रेम भेटाउनकै निम्ति संघर्षरत यात्रा गर्दै थिएँ । यी र यस्तै मूल्यांकनको मापदण्ड हुँदो हो त म उत्कृष्ट नै हुने थिएँ । त्यो स्वर्णिम इनाम म नै जित्ने थिएँ ।

कहिलेकाही आफै एकान्तमा समिक्षा गर्छु, त कहिलेकाही नभेटिएको प्रेमको कल्पना गर्छु। हो म त्यहीँ भावना ब्यक्त गर्दै छु जुन कलिलो भावना प्रेम खोजिमै रितियो। जब म कक्षा ५ मा पढदै थिए मेरि आमाले स्वर्ग रोजिन भनौँ अथार्त मैले सदाका लागि आमा गुमाएँ । जुन दिन म आफै रित्तिएको महसुस भएको थियो ! दिन पनि औशीको रातझैँ लागेको थियो ! आमा गुमाए लगत्तै मैले टुहुरिको उपमा पाएँ । समय बित्दै गयो एकदिन मेरा आफ्ना भनौदाहरुले मलाई गोठाले जीवन बरदान दिए । म त्यो समयको कसरी बयान गरुँ ! कुन छेउबाट सुरु गरौँ ।अहिले सम्झिँदा पनि हात भुइँचालोले हल्लाए जसरी काप्न थाल्छन अनि आपत पर्दा आउने आवाज झैँ जोडले चिच्याउन मनलाग्छ। जब म ११ बर्षकी थिएँ । एक दर्जन भैंसी र पैसट्ठि वटा बाख्रा अनि त्यस्तै गाई-गोरु बाहेक मेरो आफ्नो भन्ने कोही थिएनन् । उनीहरु कै लागि कहिल्यै रुखमा पछारिन्थे त कहिल्यै जङ्गलमा बजारिन्थेँ । सबै मानिस प्रेम, खुसी र आनन्दको खोजिमा शहर पस्थे । म भने शहर जाने बाटो त्यहीँ मेरो संसार भएको जङ्गलबाटै थियो । मैले पनि एकदिन त्यस्तो निर्णय गरेँ ! जो मेरा लागि बिल्कुल नौलो थियो । त्यो नौलो निर्णय अरु केही नभई जङ्गलको संसार अनि गोठाले जिन्दगीलाई तिनै एक दर्जन भैंसी अनि पैसट्ठी वटा बाख्रा र अन्य गाई बस्तुको नामसारी गरि सहरमा जाने थियो । नौलो निर्णय साथ केही दिनपछि म सहर तिर लागेँ । सहरमा आग्ला अग्ला घरहरू अनि बोलिरहेका धुवा उडाउने फलाममा भैंसी देख्दा असाध्यै डर लाग्यो । अब नौलो र झिल्लीमिलि सपनाको सहरमा खाना त खानै पर्‍यो नि हैन र ? जो सहर मैले कल्पना गरेको थिए त्यो सहर कल्पनामै सिमित रह्यो । कोही नहुने बेसहाराले त माग्ने काम गर्नुपर्दो रहेछ । म पनि त्यही काममा मन्दिर नजिक माग्न बसेँ । बिस्तारै सहर चिन्दै गएँ । जिन्दगी बनाउन आएको सहरमा त प्रेम भेटाउनकै लागि रहरहरु धरौटी राख्नु पर्दो रहेछ। बाध्यता संग मित्रता गाँस्नुपर्दो रहेछ । मन भारी बनाई झुटो मुस्कानका साथ हाँस्नु पर्दोरहेछ म बिचारी गोठालिलाई के? थाहा !

मैले गोठाले जिन्दगी छोडेर सहर रोजेको सायद त्यहीँ नभेटिएको प्रेम भेटाउनकै लागि हुदो हो । एक दिन सोचिहालेँ गाउँले जिन्दगीले नभेटिएको प्रेम खै शहरिया जिन्दगीमा कसरी भेटिएला । तर मेरा अन्जान पैतलाका यात्रा कहिल्यै रोकिएनन् जो प्रेम भेटाउनकै लागि थिए । मेरा अपरिचित आँखा कहिल्यै थाकेनन् हो म प्रेम भेटाउनकै लागि एकोहोरिएका थिएँ । सायद मेरो जन्म प्रेम भेटाउनकै लागि हुदो हो लाग्छ । प्रेम मैले तिमीलाई कहाँ कहाँ खोजिन होला ? र…. बाकी छ त केबल अब एउटा ठाउँ, त्यो ठाउँ हौ तिमी ! केवल तिमी भएको तिमि !ए प्रेम तिमी भएको ठाउँ ! म तिम्रै खोजीमा निसासिएकी छु , भौतारिरहेकी छु, तिम्रै खोजिमा कयौँ समय बित्यो, रितियो। हस्पिटलको बेडबाट पनि यि निर्दोष आँखाले पनि मैले त्यही प्रेम खोजिरहेकी थिएँ ! जुन नभेटिएको प्रेम ! नभेटिएको प्रेम ! ……नभेटिएको प्रेम…

लेखक…….✍️
मनिषा चन्द (ॠतु)
भगवतीमाई गाउँपालिका – दैलेख
हाल-टिकापुर कैलाली ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
5
+1
4
+1
0
+1
1
+1
1
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS