मंगलबार, माघ ३, २०७९ कालिकोट।

तीन जना पाकिस्तानी खेलाडी समावेश भएको हेल्प नेपाल स्पोर्ट्स क्लब पुरुषतर्फ र विभागीय टोली नेपाल पुलिस क्लब महिलतर्फ सातौँ एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनशिपमा विजयी भएका छन् ।

त्रिपुरेश्वरकाे राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सम्पन्न फाइनल खेलमा हेल्प नेपालले साविक विजेता विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै पुरुषतर्फ च्याम्पियन बन्दा पुलिसले पनि साविक विजेता न्यु डायमन्ड स्पोर्ट्स क्लबमाथि तीन–दुईकाे प्रतिष्पर्धात्मक सेटमा जित निकाल्दै उपाधि उचालेको हो ।

पुरुषतर्फको प्रतिस्पर्धामा हेल्प नेपालले आर्मीलाई २५–२२, २६–२४ र २५–२३ को सेटमा हराएकाे हाे । यससँगै हेल्प नेपालले यसअघि सम्पन्न भएका तीन प्रतियोगितामा फाइनलमा भोगेको हारको बदलासमेत लिएको छ । हेल्प नेपाल यसअघि आर्मीसँग क्लब च्याम्पियनशिप, क्लश लिग र टाइगर कपमा फाइनलमा पराजित भएको थियो । च्याम्पियन बनेसँगै हेल्प नेपालले उपाधिसँगै चार लाख रुपैयाँ हात पारेको छ । यस्तै उपविजेता बनेको आर्मीले दुई लाख रुपैयाँमा चित्त बुझायो ।

यस्तै महिलातर्फको फाइनलमा पनि साविक विजेता उपविजेतामा खुम्चियो । साविक विजेता न्यु डायमन्डलाई हराउने क्रममा पुलिसले पहिलो सेट २२–२५ ले गुमाएको थियो । पछि परे पनि सम्हालिएको प्रदर्शन गरेको पुलिसले दोस्रो सेट २५–१७ ले आफ्नो पक्षमा पार्दा खेल एक–एक सेटको बराबरीमा पुगेको थियो । तेस्रो सेट २५–२७ ले न्यु डायमन्डलाई सुम्पिएको पुलिसले चौथो सेट २५–१९ ले जित निकाल्दा खेल पाँचौँ सेटमा लम्बिएको थियो । पाँचौँ तथा निर्णायक सेटमा पुलिसले १५–११ ले आफ्नाे पक्षमा पार्दै च्याम्पियन बन्न सफल भयो । यससँगै पुलिस २०६९ सालपछि प्रतियोगिताको च्याम्पियन बनेको छ । यससँगै पुलिसले यस प्रतियोगिताको उपाधि दोस्रो पटक उचालेको छ ।

रोमाञ्चक जित निकाल्दै च्याम्पियन बनेको पुलिसले उपाधिसँगै चार लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता न्यु डायमन्डले दुई लाख रुपैयाँ प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS