कमल कोपिला
१४ वैशाख २०८१ कालिकोट।
नेपालमा हरेक राजनीतिक उतारचढावसँगै नयाँ आउने नेतृत्वले शिक्षा पद्वतिलाई आफ्नो उद्देश्य प्राप्तिका लागि आफू अनुकुल परिवर्तन गर्दै लगेको विगतका वर्षहरुमा देख्न सकिन्छ।

लामो समयदेखि नै नेपालमा औपचारिक शिक्षाको विकासक्रम अपेक्षाकृत रुपमा अघि बढेन। शिक्षा क्षेत्रलाई हरेक राजनीतिक वृत्तले आफ्नो मनोमानी र निजी फाइदाका लागि आफूखुसी व्यवस्था, पाठ्यक्रम र नीति नियम परिवर्तन गर्दै आए। राणाकालदेखि पञ्चायतहुँदै प्रजातन्त्र व्यवस्था होस् या लोकतान्त्रिक गणतन्त्र हरेक व्यवस्थामा शिक्षाले कुनै फड्को मार्न नसकेको अवस्थामा विभिन्न संघ संस्थाहरुले भने गतिलो लगाव राख्दै आएका छन।
पछिल्लो समय किर्डाक नेपाल लगायत विभिन्न संघ संस्थाहरुले नेपालमा पढाई लेखाई सिप सुधार परियोजना लगायतका परियोजना मार्फत शैक्षिक स्तरको श्रीवृद्धिका लागि देशका कुना-कुनामा लागिपरेको देखिन्छ।
यस अनुरुप विहिबार कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाको वडा नं ३ लाई पढाईकुनायुक्त वडा घोषणा गरिएको छ। प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा, किर्डाक नेपाल कालिकोटको सहजिकरणमा र नरहरिनाथ गाउँपालिका वडा नं ३ को आयोजनामा एक कार्यक्रमका बिच वडा नं ३ लाई देशकै पहिलो पढाईकुनायुक्त वडा घोषणा गरिएको हो ।

नरहरिनाथ गाउँपालिका वडा नं ३ का अध्यक्ष कटक बहादुर बुढाको अध्यक्षतामा, गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिस्टको प्रमुख आतिथ्यतामा, उपाध्यक्ष कमल कुमार शाह, शिक्षा अधिकृत दुर्गलाल न्यौपाने, पढाई लेखाई सिप सुधार परियोजना संयोजक पदम हमाल, प्लान तर्फका दिक्षा भाट, सशक्त बालिका परियोजना अधिकृत निर्मला हमाल लगायतको बिशेस आतिथ्यतामा र विर्धार्थि, शिक्षक, अभिभावक, विभिन्न सरोकारवाला, पत्रकार लगायतको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको पढाई लेखाई सिप सुधार परियोजना संयोजक हमालले बताउनुभयो ।

‘हाम्रो वडाका घर घरमा पढाईकुना, बालबालिकाको शिक्षामा सुधार दुई गुणा’ भन्ने मुख्य नारा सहित कार्यक्रम सम्पन्न गरिएको छ। बालबालिकाको पहिलो पाठशालाको रुपमा रहेको घरमा बालबालिकाको पढाईलेखाई सुधारका लागि पढाईकुना निर्माणका लागि एक अभियानको रुपमा विगत ३ वर्ष देखि यो परियोजना संञ्चालनमा रहेको थियो । अभिभावक र आ-आफ्नो बालबालिकाको पढाई प्रति थप जिम्मेवार बनाउनुका साथै पढाईप्रति चासो बढाउने हेतुले यसको सुरुवात गरेका हौ,’ उहाँले भन्नुभयो ।
पढाईकुनायुक्त वडाका लागि वडामा बालबिकास देखि कक्षा १२ सम्म अध्ययनरत बालबालिकाको घर सर्वेक्षण गर्दा ३० प्रतिशत ‘ए’ ३० प्रतिशत ‘बि’ ३० प्रतिशत ‘सि’ स्तरमा पढाईकुना भएको पाईएमा वडा / गाउँपालिका / नगरपालिका उप. न. पा. / महा न. पा. र जिल्लालाई प्रक्रिया पुरा गरेपछि पढाईकुनायुक्त वडा घोषणा गर्न सकिन्छ। सर्वेक्षण गर्दाको समयमा बालबालिका कम्तिमा विगत ६ महिनादेखि त्यस घर वा वडामा बसोबास गरेकालाई मात्र गणना गरिन्छ।
नरहरिनाथ गाउँपालिका वडा नं ३ ले यस अघि प्रतिबद्धता लिने, कार्ययोजना बनाउने, कार्यन्वयनको अनुगमन, समिक्षा र सुलभ सर्वेक्षणका लागि निर्णय, प्रतिवेदनको समिक्षा, घोसणाको अनुमति लिने, सुलभ सर्वेक्षण, समिक्षा, लगायतका महत्त्वपूर्ण कार्यहरु गर्दै सम्पुर्ण सुचक समेत पुरा गर्नमा जोड दिएको वडा सचिव देवराज बिकले बताउनुभयो।
वडा भित्र रहेका पढाईकुना निर्माण गर्न योग्य शतप्रतिशत बालबालिकाले आफ्नो घरमा समय तालिका अनुसार नियमित अध्ययन र अभिभावकले सहयोग गर्ने, अभिभावकको सहयोगबाट बालबालिकाले घरमा नै दिगोरुपमा अध्ययनको वातावरण र यसका लागि वडा गाउँपालिका र स्थानिय साझेदार निकायहरुको अगुवाई तथा नेतृत्त्वदायि सहभागितामा वृद्धि हुनेकुराको अपेक्षित उपलब्धिमा सो वडामा पहिलो अनुगमन अनुसार जम्मा पढाईकुना २३९ (६२.४०%), पढाईकुना नभएका घर १४४ (३७.५९%), जम्मा घरधुरि ३८३ र बालबालिका नभएका घर ४५ (११.७४%) रहेको परियोजना संयोजकले बताउनुभयो । त्यस्तै, दोस्रो चरणको अनुगमन अनुसार, जम्मा पढाईकुना २६१ (६८.१४%) र पढाईकुना नभएका घर १२२ (३१.८५%) रहेको र अन्तिम चरणको अनुगमन अनुसार, जम्मा पढाईकुना ३५४ (९२.४२%) र २९ (७.५७%) पढाईकुना नभएका घर रहेका बताउनुभयो ।
सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिस्टले, पढाईकुनाले बिर्धार्थिहरुको पढाईलेखाईमा अत्यधिक सुधार ल्याउनेभएकाले अन्य वडामा पनि लागु गर्नुपर्ने बताउनुभयो भने कार्यक्रमका अध्यक्ष तथा वडाअध्यक्ष कटक बहादुर बुढाले अभिभावक र विर्धार्थिसँग पढाईकुनालाई निरन्तरता दिन आग्रह गर्नुभयो भने आफ्नो वडा देशकै पहिलो पढाईकुनायुक्त वडा भएकोमा खुशि व्यक्त गर्नुभयो । साथै सम्बन्धित सम्पुर्ण संघ संस्था र सरोकारवालालाई धन्यवाद व्यक्त गर्नुभयो।


