कमल कोपिला
शुक्रबार, ७ असार २०८१ कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति, बजेट तथा कार्यक्रम तर्जुमासम्बन्धी कार्य प्रारम्भ गरेका छ। गाउँपालिकाले राय, सुझाव सङ्कलनलाई तीव्रता दिईरहेको छ।
आगामी आ.व.को नीति, बजेट तथा कार्यक्रम तर्जुमाका लागि विज्ञ, राजनीतिक दल, सङ्घसंस्था, बुद्धिजीवी, सञ्चारकर्मी, समाजसेवी, पेशाकर्मी, कर्मचारी र आम नागरिकबाट राय, सुझाव माग गरिएको नरहरिनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलले बताए। एक सूचना जारी गर्दै सुझाव पेस गर्न आग्रह समेत गरिएको छ। राय सुझावकै आधारमा आगामी वर्षको नीति, बजेट तथा कार्यक्रम ल्याइने गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्टले बताएका छन।
आगामी असार १० गते नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको र यसैको तयारीस्वरुप सुझाव सल्लाह सङ्कलन गर्न लागिएको हो। सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास, वन वातावरण, सेवा प्रवाह र सुशासनका सवालमा आफ्ना सुझाव सल्लाह र राय गाउँपालिकालाई विभिन्न माध्यममार्फत पेश गर्न सकिने नरहरिनाथ गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले यसपटक बजेटलाई थप प्रभावकारि र जनमुखि बनाउनका लागि नयाँ अभ्यास गरिरहहेको र गाउँपालिकालाई पुर्णतयाः सुशासनतर्फ लिनका लागि यसपालि फरक तवरले लागि परेको गाउँपालिकाका प्रवक्ता प्रदिप बोहराले बताए।
‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पुर्वाधार, नरहरिनाथ गाउँपालिकाको विकास र समृद्धिको आधार’ भन्ने मुल नाराका साथ बिहिवार आर्थिक वर्ष २०८१/८२ को निति तथा कार्यक्रम सम्बन्धि विभिन्न सरोकारवालासँग गाउँपालिकाले अन्तर्क्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ।