९ माघ, २०८१, कालिकोट। जिल्लाको नरहरिनाथ गाउँपालिकामा सशक्त बालिका परियोजनाअन्तर्गत समुदायमा रहेका विविध समस्याहरूको समाधानका लागि सामुदायिक कचहरी कार्यक्रम आज सम्पन्न भएको छ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग, किर्डाक नेपाल कालिकोटको सहजीकरण, र नरहरिनाथ गाउँपालिकाको समन्वयमा आयोजना गरिएको सो कार्यक्रममा समुदायका विभिन्न क्षेत्रका समस्याहरूलाई उठान गरी समाधानको उपाय खोज्ने प्रयास गरिएको हो। कार्यक्रमको अध्यक्षता नरहरिनाथ गाउँपालिकाका कार्यवाहक अध्यक्ष तथा वडा नं. ३ का वडाध्यक्ष कटक बहादुर बुढाले गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाका शिक्षा अधिकृत दुर्गलाल न्यौपाने, विभिन्न सरोकारवालाका प्रतिनिधिहरू, शिक्षक, विद्यार्थी, पत्रकार, सुरक्षाकर्मी, र स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो । समस्या र सुझावहरूको उठान कार्यक्रममा सहभागीहरूले समुदायका विविध समस्याहरूको विषयमा खुलेर छलफल गरे ।
विद्यार्थीहरूका तर्फबाट विद्यालयमा खानेपानी र शौचालयको समस्या। विद्यालयको चारैतिर घेरबारको अभाव, पाठ्यक्रम र परीक्षा प्रणाली अंग्रेजी र नेपाली दुवै माध्यममा हुनुपर्ने, छात्राले प्रयोग गर्ने सेनेटरी प्याडको व्यवस्थापन र सुरक्षित नष्ट गर्ने उपायको अभाव, किशोरीहरूको तर्फबाट बाल विवाहको समस्या पहिलो प्राथमिकतामा रहेको, लागुपदार्थको प्रयोग दोस्रो ठूलो समस्या भएकोले यसमा गम्भीर ध्यान दिनुपर्ने, शिक्षकहरूको तर्फबाट स्थानीय पाठ्यक्रम बने पनि पाठ्यपुस्तक तयार नहुँदा अध्यापनमा कठिनाइ भएको, विद्यालयमा खेलकुद शिक्षक नियुक्त भए पनि उनीहरूले निरन्तर उपस्थिति जनाउन नसकेको, कक्षा ११ र १२ का पाठ्यपुस्तकहरूको शुल्कसम्बन्धी समस्या, स्थानीय प्रतिनिधिहरूबाट, युवा बेरोजगारीका कारण विदेश पलायन बढेको, साना बालबालिकाको विद्यालय आउजाउका क्रममा भोग्ने कठिनाइ रहेको लगायतका समस्याहरुको उठान गरिएको थियो ।
समाधानका लागि श्री रमा मावि कालाशिल्लाका प्रधानाध्यापक तपेन्द्र महत्ताराले विद्यालयका खेलमैदानलाई सुधार गर्न श्रमदान र बजेट मागद्वारा पहल भइरहेको बताए । उनले सेनेटरी प्याडको व्यवस्थापनका लागि विद्यालयले उचित समाधान खोजिरहेको र खानेपानी तथा शौचालय सुधारमा पनि ध्यान दिन प्रतिवद्धता जनाए । शिक्षा अधिकृत दुर्गलाल न्यौपानेले स्थानीय पाठ्यक्रमको प्रभावकारिता अभावलाई मध्यनजर गर्दै नयाँ एकीकृत पाठ्यक्रमको बहस भइरहेको जानकारी दिए । रोजगार शाखा प्रमुख दिपेन्द्र बहादुर बुढाले देशभरि बेरोजगारी समस्याले गम्भीर असर पुर्याएको उल्लेख गर्दै, यसलाई समाधान गर्न गुणस्तरीय शिक्षाको आवश्यकतामा जोड दिए । कार्यक्रमका अध्यक्ष कटक बहादुर बुढाले बाल विवाह न्यूनीकरण र लागुपदार्थ प्रयोग नियन्त्रणमा वडा सरकारले उल्लेखनीय सफलता हासिल गरेको बताए। उनले यस्ता कचहरी कार्यक्रमहरूले समुदायका समस्याहरू समाधान गर्न ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
सामुदायिक कचहरीले बाल विवाह, लागुपदार्थको प्रयोग, युवा बेरोजगारी, र शिक्षासम्बन्धी समस्याहरूलाई समाधान गर्न सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको छ । सहभागितामूलक कार्यक्रमले समुदायका आवाज उठाउँदै व्यवहारिक समाधानका उपाय पहिल्याउन महत्वपूर्ण योगदान पुर्याएको छ ।
समुदायका समस्याको समाधानका लागि सामुदायिक कचहरी नरहरिनाथमा सम्पन्न
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1